आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले ०८१ को षडानन्द राष्ट्रिय पुरस्कार, षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार र षडानन्द क्षेत्रीय पुरस्कार घोषणा गरेको छ। ०८१ को षडानन्द राष्ट्रिय पुरस्कार प्रा.डा.जगदीशचन्द्र रेग्मीलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
रेग्मीका नेपालको प्राचीन इतिहास, कला, संस्कृति, वास्तुकला, भाषा आदिको खोज, अध्ययन, अनुसन्धानसँग सम्बन्धित दर्जनाैँ पुस्तकका साथै प्राचीन नेपालको कानुनी भाषा, धर्म, संस्कृति, कला र सांस्कृतिक भूगोलको ऐतिहासिक पक्षसँग सम्बन्धित अध्ययन प्रतिवेदन तथा कार्यपत्र प्रकाशित छन्।
षडानन्द राष्ट्रिय समाज सेवा पुरस्कार भद्रकुमारी घलेलाई प्रदान गरिने भएको छ। घलेका गद्य र कविताका सयौँ साहित्यिक कृति प्रकाशित छन्। पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ।
पूर्वाञ्चलमा शिक्षा, संस्कृति र साहित्यका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने षडानन्द क्षेत्रीय पुरस्कार यस वर्ष साहित्यकार कुन्ता शर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ। षडानन्द क्षेत्रीय पुरस्कारको राशि ५१ हजार रुपैयाँ रहेको छ।