कमलामा बगेका दुई किशोर अझै फेला परेनन्

शनिबार, १ मंसिर, २०८१
डिजिटल संस्करण

सिराहा र धनुषा जोड्ने कमला नदीमा नुहाउने क्रममा शुक्रबार डुबेर बेपत्ता भएका दुई किशोर अझै फेला परेका छैनन् । कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनी क्षेत्रमा नुहाउने क्रममा मिर्चैया नगरपालिका–५ का करिब १५ वर्षीय लक्ष्मण साहलाई बगाएको थियो । उनलाई नेपाली सेनाको चोहर्वास्थित नन्दाबक्स गणको गोताखोर टिमले खोजी गरे पनि फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै, सिरहा नगरपालिका–६ बसबिट्टास्थित कमला पुल नजिकै नुहाउने क्रममा  बेपत्ता भएका सिरहा नगरपालिका–१५ बुधौरागाउँका करिब १४ वर्षीय अभिषेक यादवलाई पनि फेला पार्न सकेको छैन । शनिबार बिहानदेखि गोताखोरसहित प्रहरी परिचालन गरे पनि फेला पार्न नसकिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानले जानकारी दिए । 

‘बसबिट्टा आसपासमा शनिबार अपरान्हसम्म खोजतलास गर्याैं,’ उनले भने ‘त्यसपछि अपरान्ह करिब साढे ३ बजेतिर सोही टोली उत्तरवाहिनी क्षेत्रमा गएर बगेर बेपत्ता भएका अर्का किशोर साहको खोजी गरियो तर फेला पार्न सकिएन ।’ उनका अनुसार उत्तरवाहिनी क्षेत्रमै साहसँगै बगेर बेपत्ता भएका मिर्चैया–५ कै करिब १५ वर्षीय रोशनकुमार मण्डलको शव भने दिउँसो करिब २ बजेतिर पानीमा तैरिरहेको अवस्थामा शुक्रबारनै भेटिएको थियो । 

नुहाउने क्रममा बगेर बेपत्ता भएका किशोरहरूको खोजी आइतबार पनि जारी रहने प्रहरीको भनाइ छ । उनले छिमेकी मुलुक भारतका समकक्षीसँग अनौपचारिक छलफल गरी खोजीका लागि समन्वय गरेको बताए । त्यसका अतिरिक्त सिरहा प्रहरीले मातहतका प्रहरी परिचालन गरी भारतको सीमा क्षेत्रसम्म खोजी जारी राखेको जनाएको छ । भारतको जयनगरबाट शनिबार सिरहा आएका डिएसपीसँग कमलामा बगेर बेपत्ता भएका किशोरको खोजीका लागि अनौपचारिक कुराकानी गरिएको उनले बताए । 
कार्तिक शुक्ल पूर्णिमाको दिन कमला किनारमा लाग्ने ‘भूतप्रेत’ हटाउने मेला हेर्न र कमला स्नान गर्न गएका तीन किशोर नुहाउने क्रममा उत्तरवाहिनी र बसबिट्टाबाट बेपत्ता भएका थिए । 
 

सुझावित समाचार