भारतपछि बंगलादेशमा बिजुली निर्यात

शनिबार, १ मंसिर, २०८१
डिजिटल संस्करण
भारतपछि बंगलादेशमा बिजुली निर्यात

शुक्रबार दिउँसो बंगलादेशतर्फ बिजुली निर्यातकार्यको शुभारम्भ गर्दै ऊर्जामन्त्री दीपक खड्कालगायतका अधिकारी ।

शुक्रबार ११ घण्टा ३० मिनेटसम्म चार लाख ४० हजार युनिट बिक्री, अब अर्को वर्ष १ असारदेखि मात्रै बिजुली पठाइने

शुक्रबार दिउँसो ४० मेगावाटका दरले भारत हुँदै बंगलादेशको बजारमा बिजुली निर्यात भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार शुक्रबार दिउँसो १२:३० देखि राति १२ बजेसम्म एक दिनका लागि बिजुली बंगलादेशमा निर्यात भएको हो ।

गत १७ असोजमा नेपाल, भारत र बंगलादेशबिच भएको विद्युत् निर्यातसम्बन्धी सम्झौताअनुसार १ असारदेखि ३० कात्तिकसम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात गर्ने सर्त थियो । सोही सर्तअनुसार यो वर्ष एक दिन मात्रै बिजुली निर्यात भएर बंगलादेशसँग विद्युत् व्यापारको ढोका खुलेको हो । यो दक्षिण एसियाकै पहिलो उपक्षेत्रीय विद्युत् व्यापार हो । 

शुक्रबार परराष्ट्र मन्त्रालयमा भर्चुअल कार्यक्रम गरेर बंगलादेशमा विद्युत् निर्यातको शुभारम्भ गरिएको थियो । सो कार्यक्रममा ऊर्जामन्त्री दीपक खड्का, भारतका विद्युत्मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कबिर खानले भर्चुअल विधिमार्फत संयुक्त रूपमा स्विच थिचेर विद्युत् व्यापारको शुभारम्भ गरेका थिए । विद्युत् प्राधिकरणका अनुसार ११ घण्टा ३० मिनेटमा चार लाख ४० हजार युनिट बंगलादेश विद्युत् निर्यात गरिएको छ । सम्झौताअनुसार एक युनिट विद्युत्बराबर नेपालले ६.४० डलर पाउनेछ । जसअनुसार शुक्रबार नेपालले २८ हजार एक सय ६० डलरको विद्युत् निर्यात गरेको छ ।  

भारतीय प्रसारण संरचना हुँदै नेपालको बिजुली बंगलादेश पुगेको हो । नेपाल–भारत अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारणलाइनबाट भारतसम्म र त्यहाँबाट भारत–बंगलादेशबिचको बहरामपुर (भारत)–भेरमारा (बंगलादेश) चार सय केभी प्रसारणलाइनमार्फत बिजुली बंगलादेश पुगेको हो । त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात भएको प्राधिकरणले जनाएको छ ।

क्षेत्रीय व्यापार सुदृढ बनाउन मद्दत पुग्ने विश्वास
बंगलादेश विद्युत् निर्यातका लागि आयोजित भर्चुअल बैठकमा ऊर्जामन्त्री दीपक खड्काले नेपालबाट बंगलादेश विद्युत् निर्यात हुनु मुलुकका लागि ऐतिहासिक कोसेढुंगा भएको बताए । ‘यो कोसेढुंगा दक्षिण एसियामा दिगो र अन्तरसम्बन्धित ऊर्जा भविष्यका लागि साझा दृष्टिकोणको प्रतिबिम्ब हो,’ उनले भने । उनले ऊर्जा सुरक्षा, आर्थिक वृद्धि र वातावरणीय दिगोपनलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा भारतका विद्युत्मन्त्री मनोहर लालले भारतीय प्रसारणलाइन प्रयोग गरेर दक्षिण एसियाली मुलुकमा विद्युत् विस्तार गर्ने काम सराहनीय भएको बताएका थिए । 

कुलमान घिसिङले भने–बंगलादेशलाई आगामी १० वर्षमा पाँच हजार मेगावाट विद्युत् बिक्री गर्ने लक्ष्य छ
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी १० वर्षमा पाँच हजार मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने लक्ष्यका साथ उत्पादन र पूर्वाधार तयार भइरहेको जानकारी दिए । भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले आगामी दिनमा बंगलादेश निर्यात हुने बिजुलीको परिमाण पनि बढाउँदै लगिने बताए ।

यो वर्ष सम्झौताअन्तर्गत बाँकी रहेको एक दिन मात्रै निर्यात भए पनि प्राविधिक, कानुनी र आर्थिक आधारमा ठुलो महत्व रहेको उनको भनाइ थियो । ‘यो वर्षको निर्यात स्थिति परिमाणका आधारमा थोरैजस्तो देखिन्छ होला । तर, सांकेतिक रूपमा यसले ठुलो महत्व राख्छ । सीमा नै नजोडिएको देशमा विद्युत् निर्यात हुनु आफैँमा ठुलो र महत्वपूर्ण विषय हो । आउँदा दिनमा बंगलादेशमा निर्यात हुने विद्युत्को परिमाण बढाउँदै जानेछौँ । आगामी १० वर्षमा बंगलादेशमा पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने योजना छ,’ उनले भने । 
 

सुझावित समाचार