मजदुर वर्गको विश्वास गुमाएको डेमोक्रेटिक पार्टी

शुक्रबार, ३० कार्तिक, २०८१
डिजिटल संस्करण

जबसम्म पार्टीले मजदुरको हितलाई साँचो अर्थमा प्राथमिकता दिँदैन, तबसम्म ती डेमोक्य्राट पार्टीमा फर्किनेछैनन् 

अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पको जितभन्दा डेमोक्रेटिक पार्टीको हार बढी भएको छ । डेमोक्य्राटको पराजय राष्ट्रपति बाइडेनले लामो समयसम्म प्रतिस्पर्धाको मैदान नछोड्नु वा कमला ह्यारिस उम्मेदवार हुन अयोग्य भएको भन्ने पनि होइन । डेमोक्य्राटले मजदुरको समर्थन गुमाएर यसलाई पुनः प्राप्त गर्न असफल भएकाले यो नतिजा आएको हो । पार्टीको डिजिटल अवरोध, भूमण्डलीकरण, उच्च आप्रवासन र ‘वोक’ (उग्र–प्रगतिशीलता) ले पार्टीलाई अमेरिकी मजदुरबाट टाढा पुर्याएको छ । आज डेमोक्य्राटले मुख्यतया उच्च शिक्षा हासिल गरेका मतदातालाई आकर्षित गर्छन्, न कि मजदुरलाई । जहाँको लोकतन्त्रमा पनि मध्य–वामपन्थी पार्टी मजदुरका पक्षमा नदेखिए लोकतन्त्रमै असर पर्छ ।

डेमोक्य्राटले यसअघि सिलिकन भ्याली, अल्पसंख्यक, संगठित मजदुर र सहरी पेसेवरका समर्थनमा चुनाव जितेका थिए । यद्यपि यो समर्थन आधार निकै अस्थिर थियो र मजदुर र विशेषतः साना सहर तथा अमेरिकाको दक्षिणी भेगका मध्यम वर्ग उपेक्षित रह्यो । यो मुद्दा सन् २०१६ मै स्पष्ट थियो, जसले बाइडेनलाई सन् २०२० मा मजदुरपक्षीय औद्योगिक रणनीति अपनाउन प्रेरित गरेको थियो । उनको नीतिले रोजगारी सिर्जना गर्यो, औद्योगिक आधारलाई बलियो बनायो, पारिश्रमिक बढायो तथा आप्रवासन, संरक्षणवाद, युनियन निर्माण र सार्वजनिक लगानीमा परिवर्तन भयो । तथापि पार्टी संस्थापन विशेषतः तटीय क्षेत्रका शिक्षित सम्भ्रान्त कार्यकर्ताले मजदुरको सांस्कृतिक र आर्थिक सरोकारलाई सम्बोधन गर्नुको सट्टा तिनलाई पाठ पढाइयो वा हकारियो ।

अमेरिकी मजदुरसँग डेमोक्य्राटको सम्बन्ध बुझ्न एउटा प्रश्नकै उत्तर पर्याप्त हुनेछ । एक डेमोक्रेटिक सम्भ्रान्त कार्यकर्ताले उच्च–माध्यमिकस्तर मात्र पढेको मजदुर वा विदेशबाट स्नातकोत्तर शिक्षा हासिल गरेका पेसेवर, कोसँग चार घण्टा कुरा गर्न रुचाउँछ होला ? धेरैले उच्च–शिक्षा हासिल गरेको पेसेवरसँग बस्न रुचाउँछन् । सुरुमा मध्यम वर्ग र देशप्रेमलाई लिएर ह्यारिसको जोडले उनले यो असंगति सम्बोधन गर्न सक्ने देखिएको थियो । मजदुरलाई फिर्ता ल्याउने विश्वसनीय प्रयासले चुनावी नतिजा परिवर्तन गर्न सकिन्थ्यो । तर, चुनावी अभियान अन्ततः आफ्नो मत–निश्चित मताधारमा केन्द्रित भयो र मजदुरपक्षीय प्रयास भएनन् । गठबन्धनलाई बृहत् बनाउने मुख्य प्रयासमा लिज चेनीले उपनगरीय महिलालाई गर्भपतनको अपिल गर्नु समावेश थियो । तर, यो मुद्दाले मजदुर वर्ग विशेषतः पुरुषलाई आकर्षित गर्न असम्भव थियो ।

डेमोक्य्राटले रोजगारी र अवसरलाई प्रवद्र्धन गर्न सक्छन् । तर, त्यसका लागि पार्टीपंक्तिले ठुला प्रविधि र विश्वस्तरका व्यापार सम्भ्रान्तबाट आफूलाई टाढा राख्नुपर्नेछ र मजदुर वर्गले यसको महसुस गर्नुपर्छ । सिलिकन भ्याली पार्टीबाट टाढिन थालेको अवस्थामा विधि र तौरतरिका बदल्नेतर्फ लाग्नुपर्छ । यद्यपि यो परिवर्तन निकै गाह्रो छ, किनभने ट्रम्प र उपराष्ट्रपति निर्वाचित जेडी भान्सको रिपब्लिकन पार्टी मजदुरको मुख्य पार्टी बनेको छ । पार्टीमा विशेषतः निर्माण क्षेत्रमा काम गर्ने र साना सहरका मजदुरको आकर्षण देखिन्छ । डेमोक्रेटिक पार्टी सम्भ्रान्त सांस्कृतिक रूपमा मजदुर र मध्यम वर्गबाट विच्छेद भएको छ ।

उसो त बाइडेनको एजेन्डाले मजदुरलाई लाभ पुर्याउन थालेको थियो र विश्वव्यापीकरण एवं असमानताको समाधान हुँदै थियो । ट्रम्पको आगामी कार्यकालले सम्भवतः धनाढ्य सम्भ्रान्तलाई नै समर्थन गर्नेछ । चिनियाँ आयातमा उच्च भन्सार लगाएर रोजगारी बढ्दैन वा मुद्रास्फीतिलाई रोक्न सकिँदैन । जबकि बाइडेनको महामारी नीति ट्रम्पको अघिल्लो कार्यकालले मुद्रास्फीति बढाएको अवस्थामा आएको थियो, तैपनि संघीय बैंक (फेडरल रिजर्भ) ले मूल्य स्थिरता पुनस्र्थापित गरेको थियो । तथापि, ट्रम्पले बैंकलाई आफ्नो लोकप्रियता बढाउन ब्याजदर कटौतीका लागि दबाब दिएमा मुद्रास्फीति घट्न सक्छ । तर, क्रिप्टो क्षेत्रमा ट्रम्पको समर्थनले थप अनियमितता र अराजकता निम्त्याउन सक्छ, जसले मजदुर वा उपभोक्तालाई कुनै लाभ पुर्याउनेछैन । 

आगामी चार वर्षको प्रविधि नीति मजदुरका लागि विनाशकारी हुन सक्छ । एआईमा बाइडेनको कार्यकारी आदेश केवल एक सुरुवात थियो । उचित नियमनविना एआईले उद्योगलाई क्षति पुर्याउन सक्छ, उपभोक्तालाई ठग्न सक्छ र मजदुरअनुकूल संयन्त्रका रूपमा एआई आफ्नो क्षमतालाई सदुपयोग गर्न असफल हुन सक्छ । ठुला कम्पनी र उद्यम पुँजीपतिका लागि ट्रम्प प्रशासनको समर्थनले मजदुरलाई अटोमेसनले प्रतिस्थापित गर्न सक्छ । यसबाहेक अमेरिकी संस्थालाई ट्रम्पको धम्कीले मजदुरको हितलाई जोखिममा पार्छ । उनका कामले लोकतान्त्रिक मान्यतालाई कमजोर बनाउने, नीतिगत अनिश्चितता सिर्जना गर्ने, ध्रुवीकरणलाई गहिरो बनाउने र अदालतजस्ता संस्थामाथिको विश्वासलाई कमजोर बनाउनेछ । यसले ट्रम्पले रुचाएका क्षेत्र अर्थात् पेट्रोलियमलगायत उद्योगमा अल्पकालीन लगानी बढाए पनि दीर्घकालीन रूपमा कमजोर संस्था र घटेको विश्वासले लगानी एवं दक्षतामा क्षति पुर्याउनेछ ।

संस्थागत कमजोरीले आर्थिक रूपमा ठुलै क्षति निम्त्याउँछ र बलियो समझदारी, विश्वास र कानुनी शासनका लागि आवश्यक पर्ने उन्नत प्रविधिमा निर्भर नवप्रवर्तन–सञ्चालित अर्थतन्त्रका लागि विनाशकारी हुन सक्छ । विशेषज्ञको नेतृत्वमा नियमनविना, स्वास्थ्य सेवा, शिक्षा र अनलाइन सेवाजस्ता क्षेत्र कम गुणस्तरका उत्पादनको भेल झेल्ने जोखिममा छन् । यदि नवप्रवर्तन र उत्पादककत्व वृद्धि रोकियो भने ज्याला पनि स्थिर हुनेछ । यी चुनौतीका बाबजुद मजदुर डेमोक्य्राट पार्टीमा फर्किनेछैनन् । जबसम्म पार्टीले मजदुरको हितलाई साँचो अर्थमा प्राथमिकता दिँदैन, तबसम्म ती डेमोक्य्राट पार्टीमा फर्किनेछैनन् । यसका लागि मजदुरपक्षीय नीति मात्र नभई उनीहरूसँग मिल्दोजुल्दो ढंगले घुलमिल हुन पनि आवश्यक छ । यो किसिमको परिवर्तन पार्टी चलाउने तटीय सम्भ्रान्तका लागि चुनौतीपूर्ण हुन सक्छ ।

(एसिमोग्लु सन् २०२४ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कारका सहविजेता हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

 

सुझावित समाचार