साढे २२ किलो चरेससहित तीनजना पक्राउ

बिहिबार, २९ कार्तिक, २०८१
डिजिटल संस्करण

वीरगन्जबाट ठुलो परिमाणमा लागुऔषध चरेससहित तीनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका–४, हरिहरपुरनिवासी २९ वर्षीय मकसुद अन्सारी, भारत विहारको आदापुर–९ निवासी २९ वर्षीय मुकेशकुमार र सिम्रौनगढकै २० वर्षीय रामलाल सहनी रहेका छन्।

प्रहरीका अनुसार बुधबार साँझ करिब ६ बजेको समयमा वीरगन्ज महानगरपालिका–१५ भिस्वा होटेलअगाडिको ४० फिटे सडक खण्डमा प्रहरीले लागुऔषध खरिद-बिक्री भइरहेको सूचनाका आधारमा तीनजनालाई नियन्त्रणमा लिएको हो।

प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले ना. १५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार तीनजनालाई खानतलासी गर्दा २२ किलो ५ सय ग्राम चरेस बरामद भएको हो।

प्रहरी नायब उपरीक्षक भारतीका अनुसार उनीहरूले बोकेको कालो झोला र सेतो प्लास्टिकको बोराबाट ५०० ग्रामका ४५ प्याकेटमा साढे २२ किलो चरेस फेला परेको हो। उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

सुझावित समाचार