ट्रम्पले सत्ता सम्हाल्नुअघि युक्रेनलाई अर्बौं डलर निकासा गर्दै बाइडेन

बुधबार, २८ कार्तिक, २०८१
डिजिटल संस्करण

अमेरिकाले दिँदै आएको विशाल सैन्य तथा आर्थिक सहयोगको आलोचक ट्रम्प सत्तामा फर्किएपछि युक्रेनले पाउँदै आएको अमेरिकी सहयोगमाथि अनिश्चितता छाएको छ । 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले जनवरीमा पद छाड्नुअघि नै युक्रेनलाई थप अर्बौं डलर सुरक्षा सहायता प्रत्याभूत गराउने योजनामा रहेको समाचार बाहिरिएको छ । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा कार्यकाल सम्हाल्नेछन् । त्यसअघि नै किभलाई थप आर्थिक सहायता उपलब्ध गराउने बाइडेनको योजना छ । 

नोभेम्बर ५ मा सम्पन्न राष्ट्रपतीय चुनाव जितेका ट्रम्प युक्रेनलाई अमेरिकाले उपलब्ध गराइरहेको विशाल सैन्य तथा आर्थिक सहयोगको मात्राको आलोचक रहँदै आएका छन् । उनले चुनावी प्रचारका क्रममा युक्रेन–रुससँगको युद्ध चाँडै अन्त्य गर्ने वाचा गरेका थिए । तथापि, उनले त्यो लक्ष्य कसरी हासिल गर्ने भनेर खुलाएका छैनन् । 

युक्रेनप्रतिको राष्ट्रपति ट्रम्पको अडान र संसद्का दुवै सदन सिनेट र सम्भवतः प्रतिनिधिसभामा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत पुग्ने देखिएको सन्दर्भमा युक्रेनले वासिंटनबाट पाइरहेको समर्थनको भविष्यबारे चिन्ता बढाएको छ । 

‘बाइडेन सरकारबाट बाहिरिँदा युक्रेनलाई सक्नेजति सबल हैसियत बनाउने योजनामा शीघ्रताका साथ काम गरिरहेका छन्,’ बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बिहीबार प्रकाशित रिपोर्टमा नाम नछाप्ने सर्तमा रोयटर्स समाचार एजेन्सीलाई भने । य ससम्बन्धी समाचार पहिलोपटक चर्चित अमेरिकी पत्रिका पोलिटिकोले सार्वजनिक गरेको थियो । 

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की ट्रम्पलाई जितका लागि बधाई दिने सुरुवाती विश्वनेतामध्ये एक थिए । बुधबार नै उनले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग फोनवार्ता पनि गरेका थिए । 

‘हामी नियमित वार्तामा रहन र हाम्रो सहयोगलाई थप अगाडि बढाउन सहमत भयौँ । बलियो र अटल अमेरिकी नेतृत्व विश्वका लागि र न्यायपूर्ण शान्तिका लागि अत्यावश्यक छ,’ फोनवार्तापछि सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले भनेका छन् । अमेरिकी सदनले अप्रिलमा युक्रेनका लागि हतियारसहित ठुलो आर्थिक सहायता स्वीकृत गरेको थियो । हतियार स्थानान्तरणका लागि गरिएको अमेरिकी प्रतिबद्धतामध्ये अझै ४.३ अर्ब डलरको सहायता युक्रेन पुगिसकेको छैन । त्यसबाहेक अघिल्लोपटकको आर्थिक सहायताको २.८ अर्ब डलर नयाँ हतियार खरिद सम्झौताअन्तर्गतको दुई अर्ब डलरको हतियार युक्रेन पठाइसकेको छैन । यी तीनै सम्झौताको कुल नौ अर्ब डलरको सैन्य सहायतालाई बाइडेन जनवरीअघि नै युक्रेन पुर्याउने प्रयासमा छन् । यति ठुलो आपूर्ति युद्धभूमिका लागि निकै महत्वपूर्ण साबित हुनेछ । ह्वाइट हाउसले यस खबरबारे तत्काल प्रतिक्रिया दिएको छैन ।

सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेदेखि अमेरिकाले युक्रेनलाई ६४.१ अर्ब डलरभन्दा बढीको सैन्य सहायता उपलब्ध गराइसकेको अमेरिकी विदेश मन्त्रालयको पछिल्लो तथ्यांकले देखाउँछ । केही विश्लेषकहरू ह्वाइट हाउस र कम्तीमा एउटा सदन रिपब्लिकन पार्टीको नियन्त्रणमा गएपछि वासिंटनले युक्रेनलाई थप सहायता दिने कुराको निश्चित नभएको बताउँछन् । विशेषगरी अहिले युक्रेनले युद्ध मैदानमा कठिनाइ भोगिरहेको समयमा । सिनेटमा रिपब्लिकन पार्टीका नेता सिनेटर मिच म्याकोनेलले बुधबार पत्रकार सम्मेलनमा युक्रेन सहायताबारे गरिएको प्रश्नमा बोल्न अस्वीकार गर्दै आफूले चुनावी नतिजाबारे मात्र टिप्पणी गर्ने बताए । 

चुनावी अभियानका क्रममा ट्रम्पले आफू पदमा भएको भए सन् २०२२ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने थिएनन् भनी दाबी गर्ने गरेका छन् । त्यस्तै उनले राष्ट्रपति भएको ‘२४ घण्टामा युक्रेन संकट समाधान गर्न सक्ने’ समेत बताएका थिए । ट्रम्पले शान्ति सम्झौतामा पुग्न युक्रेनले आफ्नो भूमि परित्याग गर्नुपर्ने संकेत गरेका छन्, जसलाई युक्रेनले अस्वीकार गरेको छ । उता ट्रम्पका उपराष्ट्रपति सहयात्री जेडी भान्स पनि युक्रेन सहायताको मुखर आलोचक हुन् । उनले विदेशलाई युद्धका लागि ठुलो रकम विनियोजन गर्नुसाटो त्यस रकम घरेलु प्राथमिकतामा खर्च गर्नुपर्ने तर्क गर्दै आएका छन् । 

– रोयटर्सबाट

See More On

सुझावित समाचार