कुवेतविरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, १६५ रनले विजयी

क्याप्टेन पूजाको अलराउन्ड प्रदर्शनी

मंगलबार, २७ कार्तिक, २०८१
डिजिटल संस्करण

युनाइटेड अरब इमिरेट्समा जारी आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपालले १६५ रनको जित निकालेको छ।

२१४ रनको विशाल लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा मात्र ४८ रन बनाएर अलआउट हुन पुग्याे। बलिङतर्फ नेपालकी कप्तान महतोले पाँच तथा रचनाकुमारी चौधरी र सीमा केसीले दुई–दुई विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा मात्र दुई विकेट गुमाएर २१३ रनको योगफल बनाएकाे थियाे। नेपालको विशाल योगफलमा क्याप्टेन पूजा महतोले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन्।

यसैगरी, ३३ बल खेलेकी सोनी पाख्रिनले दुई चौकासहित ४३ रनको योगदान गरिन्। त्यसअघि सावित्री धामीले ११ रन जोड्दा साना प्रविन ६ रन बनाएर आउट भएकी थिइन्। युएईका लागि जिफा जिलानी र क्यान्डिस डायसले समान एक विकेट लिएका थिए।

गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाँचौँ खेल हो। नेपालले यसअघि तीन खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ। तेस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको नेपाल आठ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। अपराजित युएई चार खेलबाट आठ अंक जोड्दै शीर्ष स्थानमा छ।

आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी प्रतियाेगितामा शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ।

सुझावित समाचार