आइसिसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत कुवेतसामु नेपालले विशाल लक्ष्य प्रस्तुत गरेकाे छ। क्याप्टेन पूजा महतोको शतकीय इनिङ्समा नेपालले मात्र दुई विकेटको क्षतिमा २१३ रन बनाएको हो।
युनाइटेड अरब इमिरेट्समा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि क्याप्टेन पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन्। पूजाको शतक नेपाली महिला क्रिकेटको इतिहासमै दोस्रो तथा नेपाली यू–१९ महिला इतिहासमा पहिलो हो।
यसैगरी, ३३ बल खेलेकी सोनी पाख्रिनले दुई चौकासहित ४३ रनको योगदान गरिन्। त्यसअघि सावित्री धामीले ११ रन जोड्दा साना प्रविन ६ रन बनाएर आउट भएकी थिइन्।
युएईका लागि जिफा जिलानी र क्यान्डिस डायसले समान एक विकेट लिए।
गत बुधबारदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो पाँचौँ खेल हो। नेपालले यसअघि तीन खेलमा जित हासिल गरेको छ भने एक खेलमा पराजित भएको छ।
आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी प्रतियाेगितामा शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपका लागि छनोट हुनेछ।