नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) फ्लड लाइटमा गराउने योजना बनाएको छ । कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट (त्रिवि) मैदानमा फलड लाइटमा एनपिएल आयोजना गर्न ३० करोड खर्च हुने क्यानका सचिव पारस खड्काले बताए । ‘डे–नाइटमा लिग आयोजना गर्न फ्लड लाइट आवश्यक पर्छ, यो जडान गर्न ३० करोड रुपैयाँ लाग्छ,’ सोमबार सञ्चारकर्मीसँग खड्काले भने, ‘सरकारमा भएकाहरूसँग छलफल गर्दा ३० करोड केही होइन भन्ने जवाफ पाए पनि अहिलेसम्म काम अगाडि बढेको छैन ।’
गत ३० असारमा केपी ओली शर्माले प्रधानमन्त्रीको पद भार सम्हालेकै दिन त्रिवि क्रिकेट मैदानलाई तीन सय दिनभित्र फ्लड लाइटसहितको अन्तर्राष्ट्रियस्तरको बनाउने घोषणा गरेका थिए । तर, फ्लड लाइटसम्बन्धी मैदानमा केही काम भएको छैन । मैदानमा डिजिटल स्कोर बोर्ड भने निर्माण भएको छ । यसअघि, सरकारले त्रिवि मैदानलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी फ्लड लाइट जडान गर्ने घोषणा गरेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले अहिले त्रिवि क्रिकेट मैदानमा हुने भौतिक संरचना निर्माण काम सहरी विकास मन्त्रालयले हेर्ने बताएका छन् । ‘राष्ट्रिय गौरव आयोजना भएकाले फ्लड लाइट जडानदेखि अन्य निर्माणका काम मन्त्रालयले हेर्छ,’ घिसिङले भने, ‘राखेपसँग केही जिम्मेवारी छैन ।’ क्यान सक्षम भए फ्लड लाइट आफूहरूले नै जडान क्यानका सचिव खड्काको भनाइ छ । ‘हाम्रो इच्छा भनेको दोस्रो संस्करण फ्लड लाइटमा गर्ने हो । यसका लागि हामी आर्थिक संकलन गर्छौँ,’ उनले भने, ‘यद्यपि, हामीले सरकारसँग निरन्तर रूपमा वार्ता गरिरहेका छौँ ।’
ब्रान्ड भ्यालु एक अर्ब पुग्ने
एनपिएल सुरु नहुँदै यसको ब्रान्ड भ्यालु बढेको छ । सहभागी आठ टोलीको लगानी र विभिन्न निजी कम्पनीसँग गरेको सम्झौताअनुसार अहिले एनपिएलको ब्रान्ड भ्यालु ५० करोडमाथि पुगेको छ । एनपिएल सुरु हुँदासम्म यसको भ्यालु एक अर्बसम्म पुग्न सक्ने क्यानका सचिव खड्काले बताए । ‘एनपिएल सुरु नहुँदै यसमा ५० करोडमाथि लगानी भइसकेको छ, आगामि १५ मंसिरमा लिग हुँदा यसको भ्यालु सम्भवतः एक अर्ब हुन सक्छ,’ उनले भने । पहिलो संस्करण सकिँदासम्म आठ फ्रेन्चाइज टोलीले औसतमा ५ करोड रुपैयाँभन्दा बढी खर्च हुनेछ । फ्रेन्चाइज टोलीको स्वामित्व लिन, खेलाडीको अक्सन, प्रोमोसन तथा विदेशी खेलाडी भित्र्याउँदासम्म आबद्ध टोलीहरूले करोडौँ लगानी गरेका छन् । ‘हरेक फ्रेन्चाइजले कम्तीमा पाँच करोडभन्दा बढी खर्च गर्दै छन् । त्यसको प्रतिफल तत्काल आउँदैन । यसलाई दिगो रूपमा अघि बढाउने र तीन–चार वर्षपछि मात्र फ्रेन्चाइजलाई आर्थिक लाभ हुँदैन भनेर भनेका छौँ,’ खड्काले भने, ‘क्यानले पहिलोपटक यति ठूलो लगानी र धेरै टिम समावेश गरेर फ्रेन्चाइज लिग गर्न लागेको हो ।’
फिक्सिङ रोक्न सुरक्षाकर्मी २४सै घण्टा परिचालन गरिने
दुई वर्षअघि नेपाल टी–२० लिगमा भएको म्याच फिक्सिङ घटना नदोहो¥याउन क्यानले यसपटक सतर्कता अपनाएको छ । क्यानले १५ मंसिर देखि ६ पुसम्म चल्ने एनपिएलमा सहभागी आठ फ्रेन्चाइज टोली २४ घण्टा नै निगरानी गर्नेछ । ‘फ्रेन्चाइज टोलीलाई निगरानी गर्न २४सै घण्टा सेक्युरिटी अफिसर खटिनेछ, प्रत्येक टोलीसँग एक–एकजना सेक्युरिटी लायजन अफिसर हुनेछन्,’ खड्काले भने, ‘सुरक्षाकर्मीले खेलाडीदेखि अफिसियलसम्म गतिविधि हेर्नेछन् ।’ क्यानकै एन्टी करप्सन युनिटले पनि फिक्सिङको अनुसन्धान गर्नेछ । ‘हामीले नेपाल प्रहरीका आइजिपीसँग कुराकानी गरेर हरेक फ्रेन्चाइजसँग २४ घण्टे सेक्युरिटी लायजन अफिसर रहने व्यवस्था गरेका छौँ,’ उनले भने ‘प्रहरीले क्रिकेट बुझेका अधिकृत खटाउने गरी सल्लाह भएको छ ।’
पाँच सय दर्शक अट्ने अस्थायी भिआइपी प्यारापिट बन्दै
त्रिवि मैदानमा अस्थायी भिआइपी प्यारापिट तयार गरिने भएको छ । क्यानका अनुसार सो प्यारापिटमा पाँच दर्शक अटाउने लक्ष्य राखिएको छ । क्यान प्रवक्ता छुम्बी लामाले यसअघि मिडिया बक्सका रूपमा प्रयोग गरिएको ठाउँलाई अस्थायी भिआइपी प्यारापिट बनाउन लागेको जानकारी दिएका छन् । ‘भिआइपी टिकट शुल्क कति राख्ने भन्ने विषयमा निर्णय हुन बाँकी छ’, उनले भने । क्यानले दर्शक बस्ने ठाउँलाई जोन छुट्याएर हरेक जोनमा प्रवेशका लागि बेग्लाबेग्लै ढोकाको व्यवस्था गरेको छ । ‘दर्शकले टिकट लिँदा नै उनीहरू कुन जोनमा बस्छन् भन्ने थाहा हुन्छ । एउटा जोनबाट अर्को जोनमा जान मिल्दैन’, उनले भने । दर्शकका लागि यसपटक शौचालयको पनि व्यवस्था गरिनेछ ।
अभिनेता हमाल लुम्बिनीका ब्रान्ड एम्बेसडर
लुम्बिनी लायन्सले चर्चित अभिनेता राजेश हमाललाई ब्रान्ड एम्बेसडर बनाएको छ । लुम्बिनीका अध्यक्ष ईश्वर जिसी र अभिनेता हमालले सोमबार एकवर्षे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । हमालले भारतमा पढ्दा भारतीय पूर्वकप्तान कपिल देव पढेको कलेजमा अध्ययन गरे पनि क्रिकेटले आफूलाई कहिले आकर्षित नगरेको बताए । नेपालले खेल्न थालेपछि क्रिकेट खेलप्रति आकर्षित बढेको उनले बताए । मार्की खेलाडी रोहित पौडेलले हमाल लुम्बिनीको ब्रान्ड एम्बेसडर भएसँगै टोलीलाई प्रेरणा मिल्ने बताए ।
पाकिस्तानका मक्सुद जनकपुर बोल्ट्समा
जनकपुर बोल्ट्सले पाँचौँ विदेशी खेलाडीका पाकिस्तानी ब्याट्सम्यान सोहेब मक्सुदलाई अनुबन्ध गरेको छ ।
जनकपुरले सामाजिक सञ्जालमार्फत ३७ वर्षीय मक्सुदलाई अनुबन्ध गरेको जानकारी दिएको हो । मक्सुदले पाकिस्तानका लागि २६ टी–२० आईमा २ सय ७३ रन प्रहार गरेका छन् । जनकपुरले यसअघि न्युजिल्यान्डका जिमी निसम, अमेरिकाका जोसुवा ट्रम्प, पाकिस्तानका मोहम्मद मोहसिन र श्रीलंकन मूलका अमेरिकी लाहिरू मिलन्थालाई भित्र्याएको थियो ।
पोखरमा वेस्ट इन्डिजका अलराउन्डर राइफर
पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई अनुबन्ध गरेको छ । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरामा ३१ वर्षीय राइफरले अलराउन्डर भूमिका निर्वाह गर्नेछन् । उनले टी–२० मा ९३ खेलबाट ११२४ रन बटुल्नुका साथै ६६ विकेट लिएका छन् ।