चुनावी अभियान परित्याग गर्नुअघि बाइडेनले मतदातासामु छनोट दुई उम्मेदवारको नभएर प्रजातन्त्रको भन्ने गर्थे, तर उनले भनाइअनुरूप व्यवहार देखाएनन्
अमेरिकामा यो साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस पराजित भइन् । यस हारका लागि म उनलाई दोष दिन्न । कम्तीमा पछिल्लो समयका उनका कुनै कृत्य दोष लगाउने खालका छैनन् । जुलाईमा पार्टीका अनौपचारिक उम्मेदवार बनेदेखि उनले आफ्नो क्षमताले भ्याएसम्म कठिन स्थितिलाई सम्हाल्ने प्रयास गरिन् । उनले एक अनुशासित चुनावी अभियानको नेतृत्व गर्दै अधिकांश अमेरिकीलाई उनीहरूले भोगिरहेको आर्थिक समस्याप्रति आश्वस्त बनाउने प्रयास गरिन् । विश्वभर सत्तारुढ दल र उनकै दलले प्रतिकूलता सामना गरिरहेको समयमा ह्यारिस चुनावमा उठेकी थिइन् ।
डेमोक्रेटिक पार्टीको अहिलेको हारको मुख्यतः जिम्मेवार राष्ट्रपति बाइडेन हुन्, जसको शासकीय रेकर्डलाई न त ह्यारिसले प्रभावकारी प्रतिरक्षा गर्न सकिन्, न त त्यसबाट दूरी नै कायम गर्न सकिन् । बाइडेनको शासनमा उपराष्ट्रपति भएकै कारण ह्यारिस प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको सहज निसाना बनिन् । चुनावी अभियान परित्याग गर्नुअघि बाइडेनले मतदातासामु छनोट दुई उम्मेदवारको नभएर प्रजातन्त्रको भन्ने गर्थे । तर, बाइडेन स्वयंले भनाइअनुरूप व्यवहार देखाएनन् । उनका हरेक व्यवहार डेमोक्रेट्सलाई चुनाव जिताउने खालको हुनुपथ्र्यो, तर त्यो भएन । उनले आफ्नो पहिचानलाई पार्टीभन्दा अगाडि राखे ।
बाइडेनको चुनावी प्रवृत्ति सधैँ यस्तो गलत थिएन । सन् २०२० को प्राइमरी निर्वाचन अभियानका क्रममा बाइडेनले डेमोक्रेटिक पार्टीभित्र हाबी भइरहेको वामपन्थी उभारले चुनावमा नकारात्मक असर गर्ने बुझेजस्तो देखिन्थ्यो । त्यसैले उनले ह्यारिसले जस्तो फर्जी व्यवसायलाई प्रतिबन्ध लगाउने वा निजी स्वास्थ्य बिमा उन्मूलन गर्नुपर्नेजस्ता वाचा कहिल्यै गरेनन् । न त उनले कहिल्यै एसिएलयू प्रश्नावली नै भरे । ह्यारिसले भने यस्तो फर्म भरेर कैदी तथा पक्राउ परेका आप्रवासीको लिंग परिवर्तन गर्ने शल्यक्रियालाई संघीय अनुदान दिइने कुरामा समर्थन जनाएकी थिइन् ।
बाइडेनको गल्ती खासमा सन् २०२० मै सुरु भएको थियो । त्यो वर्ष पार्टीभित्र राष्ट्रपति उम्मेदवारीका लागि भएको प्रतिस्पर्धा जितेपछि उनको पहिलो सबैभन्दा ठुलो भूल थियो– ह्यारिसलाई उपराष्ट्रपति उम्मेदवार बनाउनु । त्यस निर्णयले नै सन् २०२४ मा डेमोक्रेटिक पार्टीको हारको भविष्य कोरिसकेको थियो । उपराष्ट्रपति उम्मेदवार चुनिनुअघि ह्यारिस आफैँ राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धामा उत्रिएकी थिइन् । वास्तवमा सन् २०२० को राष्ट्रपति उम्मेदवारका लागि पार्टीभित्र भएको प्रतिस्पर्धामा ह्यारिसले देखाएको कमजोरीलाई टेकेर नै बाइडेनले यसपटक पुनः उम्मेदवारी दिएका थिए । जुन महिनाको राष्ट्रपतीय उम्मेदवारबिचको बहसमा खराब प्रदर्शनअघि बाइडेनको पुनः उम्मेदवारपछाडि उनी र उनका समर्थकको तर्क एकदम सीधा थियो– ‘ह्यारिसले सन् २०१९ को डेमोक्रेटिक प्राइमरीमा निकै खराब प्रदर्शन गरेकी थिइन् । त्यसैले बाइडेनले उम्मेदवारी दिएनन् भने ह्यारिसलाई उम्मेदवार बनाउनुपर्ने हुन्छ, जसले जित सुनिश्चित गर्दैन ।’
सन् २०२० मा बाइडेनले एमी क्लोबचर वा ग्रेचेन ह्वाइमरलाई उपराष्ट्रपति बनाएको भए अहिलेको हिसाब धेरै भिन्न हुने थियो । बलियो उपराष्ट्रपतिलाई देखेर सम्भवतः बाइडेनले उम्मेदवारी परित्याग गर्नुपर्छ भन्ने माग धेरै पहिले नै चर्को रूपमा उठ्ने थियो । र, ती दुईमध्ये जो पनि डेमोक्रेटिक पार्टीका बलियो उम्मेदवार हुने थिए । उनीहरूलाई अतिवादी वा यथार्थको जानकार नभएको उम्मेदवारका रूपमा सहजै आक्रमण गर्न सकिँदैनथ्यो । सम्भवतः उनीहरू अहिले राष्ट्रपति निर्वाचित भएका हुने थिए ।
राष्ट्रपति बनिसकेपछि बाइडनेले ह्यारिसलाई बेवास्ता गरे । सन् २०२१ को प्रारम्भमा उनले आफ्ना उपराष्ट्रपतिलाई गैरकानुनी आप्रवासनको ‘मूल कारण’ सम्बोधन गर्ने जिम्मेवारी प्रदान गरे । बाइडेनले ढिलो गरी यो वर्ष मात्रै अमेरिकी आश्रय प्रणालीको दुरुपयोग रोक्ने उद्देश्यसहित राष्ट्रपतीय विशेष निर्देशन ‘एक्ज्युकेटिभ अडर्स’ जारी गरे । जबकि अनियमित आवागमनको लहर उनको राष्ट्रपतिकालको मूल विशेषता रह्यो । बाइडेन एकातर्फ सीमा समस्या सम्बोधन गर्न असफल रहे भने अर्कोतर्फ यसको दोष उपराष्ट्रपति ह्यारिसमाथि पर्नबाट रोक्न पनि सकेनन् ।
बाइडेनको सीमा असफलता खासमा डेमोक्रेट्सहरूको दोस्रो ठुलो राजनीतिक समस्या रह्यो । सबैभन्दा ठुलो समस्या त महँगी (मुद्रास्फीति) थियो, जुन खासमा अमेरिकाको मात्र नभई विश्वव्यापी परिघटना हो । तर, बाइडेनका कदमले त्यो समस्या अमेरिकामा थप विकराल बन्यो । सन् २०२१ मा उनले ल्याएको ‘अमेरिकन रेस्क्युन प्लान’ नामक अति विशाल आर्थिक प्याकेजले अर्थतन्त्रलाई थप तताउन सघायो । महँगी घटाउने नीति उनको प्राथमिकतामै परेन । त्यसैले त उनी सन् २०२२ को अधिकांश समय बाइडेन डेमोक्रेटिक स्वास्थ्य समूहले माग गरेअनुरूपको खर्च प्याकेज पारित गर्ने उपाय खोजिरहेका थिए । परिणामस्वरूप अमेरिकामा वस्तुको मूल्य निकै उच्च रह्यो । ढिलो गरी महँगीविरुद्धको लडाइँ लड्ने जिम्मेवारी फेडरल रिजर्भले पायो, जसका लागि उसले ब्याजदर बढायो । बाइडेनको लोकप्रियता घटिरहेको थियो । तर, सन् २०२२ मा सम्पन्न मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले संसद्मा लाभ हासिल गर्यो । कन्जर्भेटिभ न्यायाधीशहरूको बाहुल्य रहेको सर्वोच्च अदालतले ‘रो भर्सेस वेड’ फिर्ता गरेका कारण मतदाताको आक्रोशित प्रतिक्रियाले डेमोक्रेटिक पार्टीलाई फाइदा पुर्याएको थियो । डेमोक्रेट्सहरू विपत्बाट बच्न सफल भए । विशेषतः सिनेट निर्वाचनमा तिनले एक सिटको अग्रता हासिल गरे । तथापि तिनले तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ’को बहुमत गुमाए, जुन आमअपेक्षाअनुरूप फराकिलो भने रहेन ।
मध्यावधिको सफलतालाई बाइडेनले उनको नेतृत्वको अनुमोदनका रूपमा लिए । त्यही चुनावी परिणामको बलमा उनले राष्ट्रपति पदमा पुनः उम्मेदवारी दिए । उता रिपब्लिकन पार्टीका उम्मेदवार पुनः डोनाल्ड ट्रम्प बने । बिचको समयमा बाइडेन र उनका नजिकका सहयोगी डेमोक्रेटिक पार्टीका नेता र आमसर्वसाधारणलाई उनको खस्किँदो शारीरिक क्षमता लुकाउन व्यस्त रह्यो । जुन महिनाको राष्ट्रपतीय बहसपछि समेत बाइडेन र उनका समर्थकले एक महिनासम्म उनी पूर्णतः सक्षम रहेको दाबी गरिरहे । जुलाई महिनामा उम्मेदवार परित्याग गर्दासम्म उनका विकल्प ह्यारिसबाहेक अरू छान्ने प्रक्रिया अवलम्बन गर्न सम्भवतः धेरै ढिलो भइसकेको थियो ।
आफ्नो उम्मेदवारी त्यागेलगत्तै बाइडेनले ह्यारिसको उम्मेदवारीलाई समर्थन जनाए । त्यो समयमा पार्टीलाई ह्यारिसको उम्मेदवारीप्रति निर्विरोध समर्थन गर्नु उत्कृष्ट विकल्प थियो । पार्टी सम्मेलनमा उम्मेदवार चयनका लागि प्रतिस्पर्धा गराउन धेरै समय र स्रोत खर्च हुने थियो । र, उक्त प्रतिस्पर्धाबाट पनि सम्भवतः ह्यारिस नै चुनिने सम्भावना रहन्थ्यो । साथै पार्टीभित्र एकता देखाउने प्रयासमा धक्का पनि लाग्ने थियो । यदि बाइडेनले पहिले नै उम्मेदवारी त्यागेका भए (मानौँ मध्यावधि निर्वाचनपछि) प्राइमरी चुनावका लागि समय रहन्थ्यो । त्यस प्रक्रियाबाट ह्याइटमर अथवा जोस स्यापिरोजस्ता बिलकुलै फरक उम्मेदवार छानिन सक्थे । फरक उम्मेदवारले फरक नतिजा ल्याउँथे भनेर ठोकुवा गर्न त सकिँदैन । तर, उनीहरूले बाइडेनका शासकीय रेकर्डको स्वच्छन्दताका साथ आलोचना गर्न सक्थे ।
उम्मेदवारी परित्यागपछि पनि पर्दापछाडि राष्ट्रपति र उनका नजिकका सहयोगी उनलाई बलपूर्वक हटाइएकोमा रुष्ट रहेको समाचार आइरह्यो । ती मानिस आफ्ना थेरापिस्टसँग भन्नुपर्ने कुरा पत्रकारलाई भनिरहेका थिए । र, चुनावी अभियानमा उनको उपस्थिति लाभभन्दा हानि हुने समयमा पनि उनी अभियानमा सरिक हुन छाडेनन् । चुनाव आउन एक साताअघि मात्र बाँकी रहेको समय बाइडेनले एक ‘जुम’ मिटिङमा ट्रम्पका समर्थकलाई ‘फोहोर’सँग तुलना गरेपछि विवाद भएको थियो । हुन त यही एउटा घटनाले अन्तिम परिणाम प्रभावित पारेन होला, तर यो घटना बाइडेन डेमोक्रेट्सलाई जिताउन सहयोगी नरहेको अर्को उदाहरण बन्यो । जबकि उनले चुपो लागे मात्र पनि धेरै सहयोग पुग्ने थियो । त्यसलगायत अन्य धेरै कुरामा उनी असफल रहे । यी सब कारणले डेमोक्रेटिक पार्टीको हारका लागि बाइडेनको कठोरता मूल्यांकन हुनु जायज छ ।
‘सेरियस ट्रबल’पोडकास्टका प्रस्तोता जोस ब्यारो ‘भेरी सिरियस’ न्युजलेटरमा पनि लेख्छन् ।
– द न्युयोर्क टाइम्सबाट