सरकारका गलत कामविरुद्ध जनतालाई सचेत गराउन माओवादीले देशव्यापी रूपमा खबरदारी गर्ने भएको छ । खबरदारी सभा र पार्टीको पालिका सम्मेलन एकसाथ अघि बढाउने निर्णय माओवादीको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले पालिका सम्मेलन र पालिकास्तरमा खबरदारी गर्ने निर्णय गरेको माओवादी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । ‘पालिकाको सम्मेलन र खबरदारी एकैसाथ गर्ने निर्णय भएको छ । मंसिर मसान्तसम्म सबै स्थानीय तहमा पार्टीको सम्मेलन र खबरदारी सभा हुनेछ,’ उनले भने, ‘व्यवस्थित रूपमा बृहत् जनपरिचालनका कार्यक्रम अघि बढाउँछौँ ।’
पालिकास्तरीय खबरदारी सभा यसअघि १० कात्तिकमा काठमाडौंमा गरिएको खबरदारी सभाकै निरन्तरता भएको उनले स्पष्ट पारे । विपत्मा जनताले सरकारको अनुभूति गर्न नपाएको, पुनस्र्थापना र पुनर्निर्माणमा सरकार चुकेको, अन्तर्राष्ट्रिय जगत्मा पहलकदमी लिन नसकेको, जनहितविपरीत सरकार अघि बढेको, सुशासनको विपक्षमा भ्रष्टाचारीको संरक्षणमा सरकार लागेको आरोप माओवादीको छ ।
‘विपत् होस् या त्यसपछिको पुनस्र्थापना, पुनर्निर्माणमै किन नहोस्, सरकारको उपस्थिति देखिएन । अन्तर्राष्ट्रिय मुद्दामा पहलकदमी लिन पनि सरकार चुक्यो । यो देशका जोजो राम्रो काम गरिरहेका छन्, उनीहरूलाई हटाउने खेल भइरहेको छ,’ सापकोटाले भने, ‘असाधारण परिस्थिति देशमा बन्दै छ । यस्तो अवस्थामा सबै पार्टीहरू बिचमा राष्ट्रिय समझदारी हुनुपर्ने हो । राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने वेलामा पार्टीहरू फुटाउने चर्चा चलिरहेको छ । संविधान संशोधन उहाँहरू (कांग्रेस–एमाले)को सत्तामा जाने आवरण मात्रै थियो । यी सबै विषयमा खबरदारी गर्र्नेछौँ ।’ संविधान संशोधन अग्रगमनको पक्षमा, जनताका अधिकार बढाउने पक्षमा हुनुपर्ने भन्दै माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्नेमा जोड दिएको छ ।