नेप्से परिसूचक दोहोरो अंकले बढेर दुई हजार ७६०.२१ विन्दुमा पुगेको छ। आइतबार ६२ अंकले बढेको नेप्से सोमबार २२.१४ अंकले वृद्धि भएको हो।
आज ३०२ कम्पनीका दुई करोड ४५ लाख ५७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ११ अर्ब ३१ करोड ५२ लाख रुपैयाँबराबरको कारोबार भएको छ। लगातारजसो चार–पाँच अर्ब हाराहारीमा रहेको कारोबार रकम लामो समयपछि आइतबार नौ अर्बभन्दा बढीमा पुगेको थियो।
नेप्सेका १३ उपसमूहमध्ये सोमबार पाँच उपसमूहको सूचक ओरालो लाग्दा बाँकी उपसमूह बढेका छन्। लघुवित्त सबैभन्दा धेरै ३.२० प्रतिशतले बढ्दा बैंक, लगानी र जीवन बिमा एक प्रतिशतभन्दा धेरैले वृद्धि हुँदा घटेका सबै उपसमूह एक प्रतिशतभन्दा कमले घटेका छन्।
आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त र सिर्जनशील लघुवित्तको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यसैगरी माछापुच्छ्रे बैंक, नारायणी विकास बैंक र कुथेली बुखारी स्मल हाइड्रोका लगानीकर्ताले पनि झन्डै १० प्रतिशतको आम्दानी गरेका छन्।
बढेको बजारमा इस्टर्न हाइड्रोपावरका लगानीकर्ताको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। समृद्धि फाइनान्सको मूल्य नाै प्रतिशतभन्दा धेरैले घटेको छ।