सेयर बजारमा दुई महिनायताकै उच्च कारोबार

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

सेयर बजारमा दुई महिनायताकै उच्च कारोबार भएको छ । आइतबार खुलेको बजारमा परिसूचक ६२.५४ अंक वृद्धि हुँदा नौ अर्ब ७७ करोड ११ लाख रुपैयाँबराबरको कारोबार भएको छ । सो दिन कुल दुई करोड २४ लाख ७४ हजार दुई सय ८१ कित्ता सेयर किनबेच भएको छ । 

गत ३० भदौमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १० अर्ब १० करोड ९४ लाख रुपैयाँ कारोबार भएको थियो । त्यसयता सेयर कारोबार तीनदेखि सात अर्बआसपास नै रहेको देखिन्छ । आइतबार सबैभन्दा बढी कारोबार सानिमा जिआइसी इन्स्योरेन्सको भएको छ । यो कम्पनीको ३८ करोड चार लाख ३७ हजार ८ सय ३१ रुपैयाँको कारोबार भएको छ । दोस्रो ठूलो कारोबार समृद्धि फाइनान्सको ३४ करोड १९ लाखको कारोबार भएको छ । न्यादी ग्रुप पावरको २७ करोड, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी प्रोमोटरको १९ करोड ५६ लाख र साहस ऊर्जाको १९ करोड ४४ लाखको कारोबार भएको छ । 

 २४ दिनपछि नेप्से २७ सय विन्दुमाथि
१ कात्तिकमा नेप्से परिसूचक दुई हजार सात सय ४५ दशमलव ३६ विन्दुमा पुगेको थियो । २४ दिनपछि बजार परिसूचक दुई हजार सात सयभन्दा माथिको विन्दुमा पुगेको छ । आइतबार परिसूचक दुई हजार सात सय ३८ दशमलव ०६ विन्दुमा पुगेको छ । बजार परिसूचकमा वृद्धि भएसँगै पुँजीकरण ४३ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ कायम भएको छ । १ कात्तिकमा बजार पुँजीकरण ४३ खर्ब ६५ अर्ब ३९ करोड पुगेको थियो । 

 तीन कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेकर
आइतबारको कारोबारमा तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेको छ । गुराँस लघुवित्त वित्तीय संस्था, श्रीजनशील लघुवित्त र सुपरमादी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । 

सुझावित समाचार