पछिल्लो समय सरकारमा गएसँगै कांग्रेसका सबैखाले अभियान सुस्त बनेका छन् । प्रतिपक्षमा रहँदा सक्रिय देखिएको कांग्रेसको पार्टीगत संगठन सुदृढीकरण अभियान तथा दबाबस्वरूप गुटगत रूपमा हुँदै आएका अभियान पछिल्लो समय निष्क्रिय बनेका हुन् ।
गत १ असोजबाट सयदिने (१ असोजदेखि १० पुससम्म) पाँच लाख नयाँ पार्टी सदस्य थप्ने महत्वाकांक्षी योजनासहित कांग्रेसले विशेष सांगठनिक अभियान थालेको थियो । १६ भदौमा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले अगामी निर्वाचनमा आफ्नै तागतमा निर्वाचन लड्ने नीति लिएको थियो । जसअनुसार संगठन सुदृढीकरणलाई केन्द्रमा राखेर अभियान सुरु भएको थियो । दसैँअघिको वर्षाका कारण कोजागत पूर्णिमासम्मका लागि कार्यक्रम स्थगित भयो । त्यसपछि अभियानको मिति तोकिएको छैन ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा कोजागत पूर्णिमापछि अभियान जारी रहेको दाबी गर्छन् । ‘कोजागत पूर्णिमापछि अभियान स्वतः सुचारु भएको छ । केन्द्रीय प्रतिनिधि आफ्नो अनुकूलताका आधारमा जिम्मेवारी पाएका क्षेत्रमा पुग्नुभएको छ । यसबिचको प्राकृतिक विपत्, ठूला चाडपर्वलगायत कारण अभियान ओझेल परेजस्तो देखिएको हुन सक्छ । छठपछि अभियानको सक्रियता देखिनेछ,’ उनले भने ।
गत वर्ष कांग्रेसले एक वर्षमा सात लाख नयाँ सदस्य थप्ने महत्वाकांक्षी योजनासहित ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऔँ’ अभियान सञ्चालन गरेको थियो । तर, लक्ष्यअनुसार सदस्यता बनाउन असफल भयो । यससँगै कांग्रेसले ०८१ लाई संगठन विस्तार वर्षका रूपमा घोषणा गर्ने र पाँच लाख नयाँ सदस्य थप्ने योजना अघि सारेको छ, तर लक्ष्यअनुसार अगाडि बढ्न सकेको छैन ।
रूपान्तरण अभियानका सक्रिय नेता गुरुराज घिमिरे सरकारमा गएसँगै पार्टीका अभियान अलपत्र परेको बताउँछन् । अभियान सुस्ताउँदा पार्टीको आन्तरिक सुधारको विषय ओझेलमा परेको उनको भनाइ छ । ‘पार्टी सरकारबाहिर हुँदा एक किसिमको सक्रियता र छटपटी देखिन्थ्यो । पार्टीगत या समूहगत रूपमा अभियान चल्ने गर्दथे । सरकारमा गएपछि छलफल नै हुन छाडेको छ । नेतृत्व तहको प्राथमिकतामै कुनै विषय छैन । पार्टी सुधारका विषयमा छलफल हुँदैन । यसले समग्र राजनीतिको सुधार र नयाँ पुस्ताको राजनीतिक भविष्यका लागि असर परेको छ,’ उनले भने ।
यसअघि कांग्रेसका तेस्रो पुस्ताका नेताहरूले नेतृत्वमा सुधारको दबाबसहित सुरु गरेको रूपान्तरण अभियानसमेत पछिल्लो समय निष्क्रिय छ । संस्थापनइतरनिकट नेताहरूले थालेको अभियानअन्तर्गत पहिलो चरणमा सातै प्रदेशका र डायस्पोराको भेलामार्फत नेतृत्वलाई सुझाव दिएको थियो । कांग्रेसलाई सक्रिय र सुधारका लागि दोस्रो चरणको अभियान घोषणा गरे पनि पछिल्लो समय महामन्त्री गगन थापा र डा. शेखर कोइरालाबिच सम्बन्ध चिसिएसँगै नेताहरू पनि निष्क्रिय बनेका छन् ।
पछिल्लो समय न त इतर समूहको बैठक बस्न सकेको छ, न रूपान्तरण अभियान नै अगाडि बढ्न सकेको छ । नेता घिमिरे पार्टीको सक्रियताका लागि दबाब दिन फेरि रूपान्तरण अभियानलाई सक्रिय बनाउनेबारे छलफल भइरहेको बताउँछन् । ‘रूपान्तरण अभियानमार्फत हामीले सक्रियता बढाउने र पार्टी सुधारका पक्ष औँल्याउने गरेका थियौँ । दोस्रो चरणको कार्यक्रम घोषणा गरेपछि प्रभावकारी रूपमा अगाडि बढ्न सकेन । फेरि अभियान ब्युँताउनेबारे छलफल गर्दै छौँ,’ उनले भने ।
कांग्रेसमा नेता शेखर कोइरालानिकट युवा नेताहरूले शुक्रबारदेखि ‘युवा संकल्प यात्रा’ अभियान सुरु गरेका छन् । अभियान संयोजक भूपेन्द्रजंग शाहीका अनुसार १० बुँदे एजेन्डासहित मेची–महाकाली यात्रा सञ्चालन गर्न लागिएको हो । मेचीनगरको काँकडभिट्टाबाट सुरु भई इटहरी, लहान, जनकपुर, लालबन्दी, वीरगन्ज, भरतपुर, लमही, वीरेन्द्रनगर, कोहलपुर हुँदै यात्रा ४ मंसिरमा महाकाली पुगेर समापन हुनेछ ।
संयोजक शाहीका अनुसार अभियानमा युवालाई रोजगारी, भ्रष्टाचार उन्मूलन र सुशासनलगायत विषयका एजेन्डा उठान र समाधानको उपाय खोजिनेछ । साथै, सहकारीपीडितको मुद्दालाई समेत अभियानमा समेटिनेछ । आयोजकले अभियान कुनै गुटविशेषको नभएको दाबी गरेको छ । ‘संकल्प यात्रा कांग्रेसका युवा नेताहरूको सक्रियतामा हुन लागेको हो, कुनै गुटगत अभियान होइन । यो पार्टीको आन्तरिक विषयमा छलफल गर्ने विषय होइन, जनजीवनसँग प्रत्यक्ष जोडिने अभियान हो । राष्ट्रिय समस्या समाधानका लागि प्रयत्न गर्नेछौँ,’ उनले भने ।
जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य मनोनीत
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनीत गरेका छन् । देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहेको विभागमा २८ सदस्य मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार विभागको सदस्यहरूमा नरेन्द्रबहादुर भाट, दिलबहादुर गुरुङ, पूर्णबहादुर हमाल, पेमा नीमा शेर्पा, नारायण सुवेदी, कृष्ण गिरी, नारायण खरेल, गिरीराज कुँवर, कुलप्रसाद गुरुङ, हिक्मत थापा, राजु रेग्मी, शालिकराम डुम्रे, सीता अर्याल, सुनिता जिसी कुँवर र पुरुषोत्तम खनाल, गोविन्द परियार, शिवकुमार यादव, प्रकाश अधिकारी, ऋषि शर्मा, मोहन गुरुङ, इन्द्रकमल बुढाथोकी, जगदीश पौडेल, कृष्णप्रसाद अधिकारी, राजु केसी, ईश्वरीप्रसाद जोशी, डा. अबिरल निधि, डा. मनोरदिन सैयद र कृष्ण पौडेल छन् ।