पार्टीको बढ्दो प्रभाव रोक्न सभापतिमाथि राजनीतिक प्रतिशोध : रास्वपा

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको बढ्दो प्रभाव रोक्न सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको निष्कर्ष निकालेको छ । शनिबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले लामिछानेलाई सहकारी प्रकरणमा न्यायिक हिरासतमा राखिनुलाई प्रतिशोधको निकृष्ट कृत्य ठहर गरेको हो ।

‘सभापति रवि लामिछानेविरुद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी यस कार्यको भत्र्सना गर्दछ । यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ,’ रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

रास्वपाले सहकारी छानबिन संसदीय समितिको प्रतिवेदनमा लामिछानेको संलग्नता नदेखिएको उल्लेख गरेकोमा छानबिन र पीडितलाई न्याय दिने उद्देश्य नभई नवीन विचार र आवाजलाई दबाउन उद्यत रहेको र नयाँ दलको प्रभाव कम गर्ने उद्देश्य राखेर सरकारले यस्तो कदम चालेको आरोप लगाएको छ । ‘संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोरखा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भए पनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउको वास्तविक उद्देश्य वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न हो भन्ने प्रस्ट देखिन्छ,’ रास्वपाले भनेको छ ।

राज्यको यो खतरापूर्ण चरित्रलाई पहिचान गर्दै जारी दोस्रो चरणको आन्दोलनलाई साथ दिन उसले आग्रह पनि गरेको छ । गत माघमा रास्वपाले सरकारलाई बुझाइएको सहकारी र लघुवित्त संस्थाहरूको समस्या समाधानका नीतिगत उपाय र योजना विषयक प्रतिवेदनका सिफारिसहरूलाई पीडितको बचत रकम फिर्ता गर्न दबाब दिने भएको छ । निर्णयमा सोही प्रतिवेदनका आधारमा सहकारी, लघुवित्त तथा मिटरब्याजपीडितहरूको सरोकारसम्बन्धी अभियानलाई गति दिन एक महिनाभित्र सम्बन्धित पालिका संरचनाहरूले आ–आफ्नो क्षेत्रमा सहकारी नियमनको अवस्था यकिन गरी कार्ययोजना बनाएर पीडितहरूको सरोकारबमोजिम बचत रकम फिर्ता गराउन दबाबमूलक कार्यक्रम थाल्ने भएको छ । 

आसन्न स्थानीय तहको उपनिर्वाचनका स्थानीय जनजीविकाका समस्या, राष्ट्रिय राजनीतिमा देखिएको स्वेच्छाचारी राजनीतिक प्रतिशोध, सर्वत्र व्याप्त बेथिति र संगठित भ्रष्टाचारविरुद्ध रास्वपाले अभियान थाल्ने निर्णयसमेत गरेको छ । रास्वपा सभापति लामिछाने सहकारी ठगी प्रकरणमा छानबिनका लागि २ कात्तिकमा पक्राउ परेका थिए । उनी अहिले कास्की प्रहरीको हिरासतमा छन् । उनलाई चौथोपटक म्याद थपका लागि आइतबार जिल्ला अदालत कास्कीमा पेस गरिँदै छ ।

See More On

सुझावित समाचार