हवाईभाडा वृद्धि नियन्त्रण गर्न वायुसेवा सहमत

ट्राभल एजेन्सीलाई एकमुस्ट टिकट बिक्रीको अधिकार खारेजदेखि हवाईभाडाको सूची सार्वजनिक गर्नुपर्ने

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको उडान कटौतीका कारण अत्यधिक बढाइएको हवाईभाडा नियन्त्रणका लागि वायुसेवा कम्पनीहरू सहमत भएका छन् । शनिबार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को अगुवाइमा बसेको संयुक्त छलफलमा हवाईभाडा वृद्धि नियन्त्रण गर्ने सहमति भएको हो । क्यानका महानिर्देशक प्रदीप अधिकारी, पर्यटन, परराष्ट्र, श्रम तथा रोजगार मन्त्रालयका प्रतिनिधि, त्रिभुवन विमानस्थलका महाप्रबन्धक, वायुसेवा कम्पनीका प्रतिनिधिबिच छलफल भएको थियो । छलफलपछि ट्राभल एजेन्सीलाई एकमुस्ट टिकट बिक्रीको अधिकार खारेजदेखि हवाईभाडाको सूची सार्वजनिक गर्नुपर्नेसम्मका निर्णय गरिएको क्यानका सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । 

वायुसेवा सञ्चालकले ट्राभल एजेन्सीहरूलाई पछि टिकट बिक्री गर्ने गरी एकमुस्ट रूपमा दिएको टिकट बिक्रीको अधिकार खारेज गरिएको छ । त्यस्तै, सबै वायुसेवा सञ्चालकहरूले द्विपक्षीय हवाईसेवा सम्झौताको प्राइसिङ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाईभाडा असुल गर्न नहुने’ प्रावधानको पूर्णता पालना गर्नुपर्नेछ । वायुसेवा सञ्चालकहरूले हवाईभाडा सूची तोक्ने र सार्वजनिक गर्नुपर्ने भएको छ । ट्राभल एजेन्सीहरूसँग टिकट बिक्रीको सम्झौता गर्दा निश्चित संख्या मात्र बिक्री गर्न सकिने र तोकिएको परिधिभित्र रहेर मात्र सेवा शुल्क लिने सहमति भएको छ । यस्तो व्यवस्था मिलाउने जिम्मेवारी सम्बन्धित वायुसेवा सञ्चालकलाई नै दिइएको छ । 

तोकिएबमोजिमको हवाईभाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुने र वायुसेवा सञ्चालकहरूले उपभोक्ता अधिकार सुनिश्चित हुने गरी कार्य गर्नुपर्ने निर्णय गरिएको छ । मिलेमतोमा सिन्डिकेट र कार्टेलिङ गरी हवाईभाडा बढाएर टिकट बिक्री गरेमा कारबाही गर्ने सरकारले निर्णय गरेको छ । अटेर गर्ने वायुसेवा कम्पनीको उडान रोक्नेसम्मको कारबाही हुन सक्ने व्यवस्था छ ।

उडान कटौतीका कारण हवाईभाडा अचाक्ली बढेपछि वैदेशिक रोजगारीमा जाने श्रमिक, अध्ययनका लागि जाने विद्यार्थीदेखि पर्यटकसम्म प्रभावित भएका छन् । काठमाडौंमा राति १० बजेपछिका सबै उडानहरू कटौती भएपछि महँगो मूल्यमा समेत टिकट नपाएको यात्रुहरूले गुनासो पोखेका छन् । त्रिभुवन विमानस्थल बन्दको बहाना बनाएर भाडा बढाएको भन्दै शुक्रबार पर्यटनमन्त्री बद्री पाण्डेले परराष्ट्रमन्त्री आरजु राणा र श्रममन्त्री शरतसिंह भण्डारीसहित म्यानपावर व्यवसायीसँग छलफल गरेका थिए । 

ट्याक्सी वे निर्माणका लागि त्रिभुवन विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द गरिएको छ । दैनिक २१ घण्टा उडान हुँदै आएकोमा अब दैनिक १४ घण्टा मात्र उडान हुने भएपछि अन्तर्राष्ट्रिय गन्तव्यका हवाई टिकटको हाहाकार भएको एक ट्राभल व्यवसायीले बताए । अभावको मौका छोपेर वायुसेवा कम्पनी र ट्राभल एजेन्सीहरूले हवाई टिकटको मूल्य पनि तीन गुणासम्म बढाएको यात्रुको गुनासो छ । हवाई टिकटको मूल्य एकाएक अकासिँदा यात्रुहरू ठुलो मर्कामा परेका छन् ।

सामान्य समयमा १०–११ हजार रहेको काठमाडौं–दिल्ली हवाईभाडा बढेर ४०–४५ हजार रुपैयाँ पुगेको छ । २५ देखि ४० हजारसम्म पर्ने खाडी देशहरूको टिकटको मूल्य बढेर एक लाख नाघेको ट्राभल व्यवसायी बताउँछन् । खासगरी खाडी मुलुकमा यात्रा गर्नेहरू, श्रम गर्न जानेहरू हुने गरेका छन् । शुक्रबार मन्त्रीहरूको बैठकमा श्रमिकलाई दिल्लीबाट उड्न दिने र भैरहवामा थप अन्तर्राष्ट्रिय उडान गर्न पहल गर्ने निष्कर्ष निकालिएको छ । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले अन्तर्राष्ट्रिय हवाई टिकटको नाममा केही एयरलाइन्स कम्पनी र ट्राभल एजेन्सीहरूले कृत्रिम अभाव सिर्जना गरी तीन गुणासम्म भाडादर बढाएको आरोप लगाएको छ । दिल्लीबाट उडान गर्न पनि वैदेशिक रोजगार विभागको श्रम स्वीकृति भए पनि परराष्ट्र मन्त्रालय वा मातहतको पत्र नभएमा भारतको अध्यागमनले सहजीकरण नगरेको एसोसिएसनको जिकिर छ । श्रम स्वीकृति लिएका कामदारले भारतबाट उडान गर्नका लागि परराष्ट्र मन्त्रालयले ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) देखाउनुपर्ने हुन्छ । परराष्ट्रमन्त्री आरजु राणाले तत्काललाई दिल्लीबाट उडान गर्नका लागि दूतावासमार्फत पहल गर्न अनुरोध गर्ने बताएकी थिइन् । 

वैदेशिक रोजगारीमा जानेहरूका लागि नयाँदिल्लीस्थित विमानस्थल प्रयोग गर्न यसअघि रोक लगाइएको थियो । पर्यटनमन्त्री पाण्डेले निगमसँग पर्याप्त विमान नहुँदा पनि समस्या देखिएको छलफलमा बताएका थिए । विमानस्थल बन्दको मौका छोपेर कतिपय वायुसेवा र ट्राभल एजेन्सीले बठ्याइँ गरेको एक व्यवसायीले बताए ।

अटेर गर्ने वायुसेवालाई उडान रोक्नेसम्मको कारबाही हुन्छ : ज्ञानेन्द्र भुल, सहप्रवक्ता, क्यान 
हवाईभाडामा अत्यधिक वृद्धि भएको यात्रुले गुनासो गरेपछि आज सरोकारवालाबिच छलफल भएको थियो । छलफलमा वायुसेवा सञ्चालकहरू हवाईभाडा वद्धि नियन्त्रण गर्न सहमत भएका छन् । एयरलाइन्स सञ्चालक र ट्राभल एजेन्सीहरूले मिलेमतो गरेर हवाईभाडामा कार्टेलिङ गरेको पाइए कारबाही हुन्छ । अटेर गर्ने वायुसेवा कम्पनीको उडान रोक्नेसम्मको कारबाही हुन सक्छ ।

सुझावित समाचार