आज अजरबैजान जाँदै राष्ट्रपति, जलवायु सम्मेलनलाई सम्बोधन गर्ने

आइतबार, २५ कार्तिक, २०८१
डिजिटल संस्करण

जलवायुसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप २९)मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति रामचन्द्र पौडेल आइतबार अजरबैजान जाँदै छन् । सम्मेलन अजरबैजानको बाकु सहरमा २६ कात्तिकदेखि ७ मंसिरसम्म आयोजना हुँदै छ । अजरबैजानका राष्ट्रपति इहाम हेइदर ओग्लु अलिभेभको निमन्त्रणामा राष्ट्रपति पौडेलको भ्रमण हुन लागेको हो । 

राष्ट्रपति कार्यालयका जलवायु तथा वातावरणविज्ञ, परराष्ट्र एवं वन तथा वातावरण मन्त्रालयका अधिकारी पनि सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनीलबहादुर थापाका अनुसार सम्मेलनको मुख्य सत्रमा राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । उनले हिमाल र जलवायु परिवर्तन तथा जलवायु न्यायका विषयमा धारणा राख्नेछन् । यसपालि सम्मेलनको मूल नारा ‘हरित विश्वका लागि ऐक्यबद्धता’ तय भएको छ । सम्मेलनको उद्घाटन २६ कात्तिकमा हुनेछ भने २७ र २८ गते विश्वका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

पौडेल यसअघि अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुने क्रममा जेठ अन्तिम साता स्विट्जरल्यान्ड भ्रमणमा गएका थिए । त्यहाँबाट जर्मनी भ्रमण गरेर स्वदेश फर्केका थिए । राष्ट्रपति पौडेलले उपचारका लागि भारत भ्रमण गए पनि औपचारिक भ्रमण भएको छैन । उनी औपचारिक रूपमा दोस्रोपटक विदेश भ्रमणमा जान लागेका हुन् । राष्ट्रपति पौडेल बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

सुझावित समाचार