३० कात्तिकदेखि कदम थिएटरमा ‘प्रत्यन्चा’ मञ्चन हुँदै

शनिबार, २४ कार्तिक, २०८१
डिजिटल संस्करण

एक दशकदेखि दमकमा रंगमञ्च स्थापित गर्न लागिपरेको कदम थिएटरले नयाँ नाटक मञ्चन गर्ने भएको छ। कदमले ३० कात्तिकबाट १२ मंसिरसम्म नाटक ‘प्रत्यन्चा’ मञ्चन गर्न लागेको हो।

कदम थिएटरले उत्पादन गरेको दोस्रो ब्याचका विद्यार्थीले नाटकमा अभिनय गरेका छन्। कदमले रंगकर्मी उत्पादन गर्ने मात्र होइन, दमकमा नियमित नाटक मञ्चन गरेर दमकवासीलाई रंगमञ्चसम्म तानिरहेको छ। विगतमा नियमित नाटक मञ्चन नहुने दमकमा कदम थिएटरको स्थापनापछि भने नियमित नाटक मञ्चन हुँदै आएको छ।

नाटक प्रत्यन्चामा निरंकुश राज्यसत्ता र नेतृत्वविरुद्ध गरिएको संघर्षलाई समेटिएको छ। यस्तै, पितृसत्ताले महिलामाथि गरेको विभेद र त्यसको विरुद्ध भएको विद्रोहलाई समेटिएको निर्देशक सुमित्रा पेहिमले जानकारी दिइन्। नाटक सिजन दाहाल र प्रकाश शर्मा अधिकारीले लेखेका हुन्।

नाटकमा कदम थिएटरले हालै गरेको सघन कार्यशालाबाट उत्पादन गरेको १२ नयाँ कलाकारले अभिनय गरेका छन्। रंगकर्मी पेहिमले निर्देशन गरेको नाटकमा मनिक शंकर, नरेन्द्र लिम्बू, रश्मि उप्रेती, पारुमा राई, बुङ् छेङ, पूजन खरेल, बियल राई, हेमन्त पौडेल, प्रवीण भण्डारी, मानुषी कोइराला, अनिष्मा पौडेल र पुष्प राईले अभिनय गरेका छन्। नाटकमा प्रयोग हुने तीनवटा गीतको कम्पोज रंगकर्मी सागर खातीले गरेका छन्।

‘हाम्रो पालामा अभिनय सिक्न काठमाडौं जानुपर्ने बाध्यता थियो। अब त्यो अन्त्य होस्। कला भएकाले दमकमै कला देखाउन पाउन् भनेर हामीले कलाकार उत्पादनका लागि कार्यशाला गरेका हौँ,’ कदम थिएटरका कला निर्देशक सिजन दाहाल भन्छन्, ‘कार्यशालापछि कालाकारलाई निखार्न नाटक तयार गरेका छौँ। दमक र आसपासका नागरिकलाई नाटकप्रति मोह जगाउन नियमित नाटक गर्दै आएका छौँ।’

सुझावित समाचार