चितवन र सुर्खेतमा शुक्रबार सडक दुर्घटना हुँदा नौजनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका– २९ सत्रकिलोमा बस र माइक्रो एक–आपसमा ठोक्किँदा पाँचजना र दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको हायस वीरेन्द्रनगर नगरपालिका– १४ रातानाङ्लामा दुर्घटना हुँदा चारजनाको ज्यान गएको हो ।
प्रहरीका अनुसार विराटनगरबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ३–००१ ख २८१२ नम्बरको बस र मुग्लिनबाट नारायणगढ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक माइक्रोबस (हायस) शुक्रबार बिहान एक–आपसमा ठोक्किएका थिए । दुर्घटना हुँदा माइक्रोमा सवार ६ जनामध्ये पाँचजनाको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले बताए ।
गोरखा आरुघाट गाउँपालिका– १ का ४२ वर्षीय राजबहादुर गुरुङ, माइक्रोबसका चालक चितवन खैरहनी नगरपालिका– ४ का ४० वर्षीय अनोज अधिकारी, भारत घर भई कास्की पोखरा– ९ मा बसोवास गर्दै किराना पसल चलाउँदै आएका ३६ वर्षीय राजकुमार साहको उपचारका क्रममा भरतपुरमा मृत्यु भएको हो । त्यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयी त्रिवेणी– ४ का बस्ने भुसालदम्पती ३५ वर्षीय सन्तोष भुसाल र ३३ वर्षीया सविना भुसालको पनि उक्त दुर्घटनामा परेर मृत्यु भएको छ । उनीहरू दुवैजना शिक्षक हुन् । तिहारलगत्तै मार्दी हिमालमा ट्रेकिङ गएर घर फर्कँदै गर्दा उनीहरूको दुर्घटनामा निधन भएको हो । उनीहरूका एक छोरा र एक छोरी छन । दुर्घटनामा परेका भरतपुर महानगरपालिका– १६ का ४४ वर्षीय दुर्गाबहादुर थापा गम्भीर घाइते छन् । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
त्यस्तै, दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको हायस सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– १४ रातानाङ्लामा सडकबाट दुई सय मिटर तल खस्दा थप २६ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार शुक्रबार दिउँसो भएको दुर्घटनामा गाडीका साहु, चालकसमेत रहेका दैलेखको भैरवी गाउँपालिका– ५ वहाचौरका ४१ वर्षीय सुरेश खत्री तथा भैरवी गाउँपालिका– २ का कर्णबहादुर विष्ट, संगीता विष्ट र दीपिका महतराको ज्यान गएको सुर्खेत प्रहरीका एसपी रूपेश खड्काले बताए । घाइतेको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।