कागजात किर्ते गरेको अभियोगमा मकवानपुरको बकैया गाउँपालिका– ४ का वडाध्यक्ष राजन दंगाल पुर्पक्षका लागि करागार चलान भएका छन् । गत असार दोस्रो हप्ता पक्राउ पुर्जी जारी भएपछि फरार रहेका वडाध्यक्ष दंगाल बुधबार आफैँ जिल्ला अदालतमा उपस्थित भएका थिए ।
मकवानपुर जिल्ला अदालतका अधिकृत दिलीप राईका अनुसार दंगाललाई जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले थुनामा राखी मुद्दा पुर्पक्ष गर्न आदेश दिएको हो । वडाध्यक्ष दंगालमाथि स्याङ्जाकी मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पाससम्बन्धी प्रक्रियाका लागि नक्कली कागजात बनाएर सिफारिस गरेको अभियोग छ । उनी गत स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
६ महिनाअघि उनीसहित सातजनाविरुद्ध गुरुङका श्रीमान् भारतीय मूलका एमसी परेराले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार प्रहरीले एमसी परेराको जाहेरीको आधारमा गत असारमै वडाध्यक्ष दंगाल, वडासचिव अनिशा श्रेष्ठ, नक्कली छोरा बनेका पूर्णबहादुर ब्लोनसहित सर्जमिन मुचुल्कामा साक्षी बसेका स्थानीय ४३ वर्षीय सानुमान थिङ, ३९ वर्षीय जितमान थिङ, ३५ वर्षीय जमानसिं भुलुन, ६९ वर्षीय रामबहादुर न्यासुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
उनीहरूले मृतक गुरुङको नाममा ललितपुर, कीर्तिपुर र चितवनमा रहेको करोडौं मूल्य पर्ने जग्गा हत्याउने प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रवक्ता अर्यालले बताए। बकैया ४ का ४६ वर्षीय पूर्णबहादुर ब्लोनलाई मृतक गुरुङको नक्कली छोरा बनाएर वडाध्यक्ष दंगालले १८ मंसिर ०८० मा मृत्युदर्ता र नाता प्रमाणितलगायतका कागजात तयार पारेका थिए ।
सोही घटनामा संलग्न रहेको आरोपमा वडासचिव श्रेष्ठ, ब्लोन र न्यासुरलाई जिल्ला अदालतले २१ असारमा नै पुर्पक्षका लागि थुनामा पठाएको छ । गुरुङको भने २६ भदौ ०७४ मा मृत्यु भएको थियो । उनका श्रीमान् परेरा चितवनको भरतपुरमा र उनका दुई छोरी र एक छोरा अमेरिकामा बस्दै आएका छन् ।