नेपाली महिला क्रिकेट टोलीले आइसिसी यू–१९ विश्वकपअन्तर्गत बुधबार एसियन छनोटमा थाइल्यान्डलाई ६७ रनले हराएको छ । युएईको अजमान मैदानमा भएको छनोट प्रतियोगितामा नेपालले पहिलो ब्याटिङ गरी २० ओभरमा ६ विकेट गुमाएर १०२ रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा थाइल्यान्डले ११.४ ओभरमा सबै विकेट गुमाएर ३५ रन मात्र बनाएको थियो । थाइल्यान्डमाथिको सहज जितसँगै नेपालले सन् २०२२ मा यू–१९ विश्वकपकै छनोटमा व्यहोरेको हारको बदला लिएको छ । गत संस्करणमा नेपाल एसियन छनोटमा तेस्रो भएको थियो ।
नेपालको जितमा पूजा महतोले ब्याटिङ र बलिङमा अलराउन्ड प्रदर्शन गरिन् । उनले ब्याटिङमा सर्वाधिक ३५ रन बनाइन् । उनले ४० बलमा तीन चौका र एक छक्का प्रहार गरेकी थिइन् । उनी साइमाको ओभरमा बोल्ड भइन् । बलिङमा पूजाले तीन ओभर बलिङ गरेकी थिइन् । उनले एक मेडन राखी ३ रन खर्चेर दुई विकेट लिइन् । पूजाले थाइल्यान्डविरुद्ध प्रतिओभर १ रनरेटमा बलिङ गरेकी थिइन् । उनी १४.४ ओभरमा आउट हुँदा नेपालले स्कोर बोर्डमा ७२ रन जोडेको थियो । पूजाले सोनी पाख्रिनसँग तेस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्दै नेपालको स्कोरलाई सुधार गरिन् । दुवैले साझेदारी गर्नुअघि नेपाल ५.४ ओभरमा १९–२ को कमजोर अवस्थामा थियो । नेपालको जितमा महत्वपूर्ण योगदान दिएकी पूजा खेलकै म्यान अफ दी म्याच भइन् ।
चलेन शीर्ष र मध्यक्रम ब्याटिङ
टस हारी ब्याटिङ गरेको नेपालको ब्याटिङमा शीर्ष र मध्यक्रम खासै चल्न सकेनन् । ओपनरद्वय साना प्रवीण र सवित्री धामीबिचको पहिलो विकेट इनिङ्सकै पाँचौँ बलमा गएको थियो । सानाले चार बल सामना गरी एक चौकाको सहयोगमा ५ रनको योगदान दिइन् । सवित्रीले १७ बलमा ७ रन बनाइन् । ओपनरद्वय छिट्टै आउट भएको नेपालको इनिङ्सलाई पूजा र सानाले सम्हाले । यी दुवै खेलाडी पेभेलियन फर्कंदा नेपालको ब्याटिङ पुनः कमजोर देखियो । ज्योत्स्निका मरासनीले रनआउट हुनुअघि आठ बलमा ४ तथा अलिशाकुमारी यादवले सात बलमा ७ रनको योगदान दिए । सीमा केसीले नटआउट १९ रन बनाइन् । उनले १९ बलमा दुई चौका प्रहार गरेकी थिइन् । थाइल्यान्डकी सइमाले दुई तथा सुनिसाले एक विकेट लिइन् ।
रचनाले लिइन् चार विकेट
नेपालले लक्ष्य रक्षा गर्ने क्रममा बलर रचनाकुमारी चौधरीको प्रदर्शन अब्बल रह्यो । उनले बलिङका क्रममा चार विकेट लिइन् । रचनाले तीन ओभरमा १२ रन खर्चंदै थाइल्यान्डका चार खेलाडीलाई आउट गरिन् । उनले नै नेपाललाई पहिलो सफलता दिलाइन् । ओपनर अफिसरालाई उनले १३ रनमा बोल्ड गरिन् । थाइल्यान्डको बलियो मध्यक्रम ब्याटिङका तीन खेलाडीलाई सस्तैमा आउट गर्दै रचनाले खेल नेपालको पक्षमा ल्याइन् । उनले चनोनानलाई ६, फिचामोनलाई शून्य तथा कोरैन्टलाई ३ रनमा आउट गरिन् । नेपालको बलिङमा कृष्मा गुरुङले एक र मनीषाकुमारी उपाध्यायले एक विकेट लिए । रिया शर्माले ०.४ ओभरमा दुई विकेट हात पारिन् ।
नेपालको अतिरिक्त रन शून्य
थाइल्यान्डविरुद्ध नेपालका बलरले निकै कसिलो बलिङ प्रस्तुत गरेका छन् । ११.४ ओभरमा नेपालले थाइल्यान्डलाई ३५ रनमा आउट पारेको थियो । यस क्रममा नेपालबाट पाँच बलरले बलिङ गरेका थिए । उनीहरूले थाइल्यान्डविरुद्ध एक अतिरिक्त रन पनि दिएनन् । थाइल्यान्डका फितलो ब्याटिङमा चार खेलाडीले रन नै बनाउन सकेनन् । फिचमोन, चारुकान, केवारिन तथा केसिनेले रन नै बनाउन सकेनन् । थाइल्यान्डका १० खेलाडीले दोहोरो अंकमा रन नै बनाएनन् ।
उमेर समूहमा सिनियर खेलाडीको साथ
एसियन छनोट खेल्न युएईमा रहेको नेपाली टोलीमा युवा तथा सिनियर खेलाडीको मिश्रण देख्न सकिन्छ । यसपटकको टोलीमा अनुभवी खेलाडी छन् । थाइल्यान्डविरुद्धको जितमा महत्वपूर्ण योगदान दिएकी पूजासँग सिनियर टोलीबाट टी–२० आई खेलेको अनुभव छ । उनको मुख्य भूमिका नै अलराउन्ड प्रदर्शन गर्नु हो । उनी पछिल्लो सिनियर टोलीकै नियमित खेलाडी हुन् । यू–१९ टोलीमा सिनियर टोलीमा स्थान बनाइसकेकी सोनी पाख्रिन पनि एक महत्वपूर्ण सदस्य हुन् । उनले राष्ट्रिय टोलीबाट दुईपटक टी–२० आई खेलेकी थिइन् । सिनियरका साथै उमेर समूहमा अन्तर्राष्ट्रिय खेल खेलिसकेका खेलाडी छन् । गत संस्करणको विश्वकप छनोट खेलेकी एलिसा यादव, साना प्रवीण र स्नेहा टोलीमा छन् ।
गत संस्करणमा निराशजनक प्रदर्शन गरेको नेपाल यसपटक एसियन छनोटमा पुग्ने लक्ष्यका साथ दुई महिना प्रशिक्षण गर्दै युएईमा पुगेको हो । महिला यू–१९ टोलीलाई महेशप्रसाद रिजालले प्रशिक्षण दिइरहेका छन् । उनले दाङमा दुई महिना क्लोज क्याम्प राखेका थिए । खेलाडीलाई युएईमा खेल्न सहज बनाउन मुख्य प्रशिक्षक रिजालले भारतको नयाँदिल्लीमा प्रशिक्षण राखेका थिए । दिल्लीको प्रशिक्षणमा नेपालले स्थानीय क्लबसँग अभ्यास खेल खेलेको थियो । क्लोज क्याम्प र अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका खेलाडीले नै आफ्नो पहिलो बलियो प्रतिद्वन्द्वी थाइल्यान्डलाई हराउन सफल भएका हुन् ।
चार राष्ट्रबिच प्रतिस्पर्धा
विश्वकप छनोटमा चार राष्ट्रबिच प्रतिस्पर्धा भइरहेको छ । नेपाल, युएई, कुवेत र थाइल्यान्डले एकआपसमा डबल राउन्ड रोबिन खेल खेल्नेछन् । सहभागी हरेक टोलीले अर्को टोलीसँग दुई–दुई खेल खेल्नेछन् । डबल राउन्ड रोबिन खेलमा सर्वाधिक अंक बटुल्ने एक राष्ट्र अर्को वर्ष मलेसियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ । अहिलेसम्म मलेसियामा विश्वकप खेल्ने १६ मध्ये १५ टोलीले स्थान पक्का गरेका छन् । यही एसियन छनोटबाट एक राष्ट्र अन्तिम टोलीका रूपमा रहनेछ । गत संस्करणको शीर्ष १० टोली, आयोजक मलेसिया क्षेत्रीय छनोट जितेका नाइजेरिया, सामोअ, स्कटल्यान्ड र अमेरिकाले स्थान सुरक्षित गरेका छन् । अमेरिका क्षेत्रमा अन्य टोली नहुँदा अमेरिकाले सीधै विश्वकपमा स्थान बनायो ।