नरेन्द्रनाथ दत्त बाल्यावस्थादेखि नै मेधावी छात्र थिए । उनको व्यक्तित्व तथा बोलीबाट सबै प्रभावित हुन्थे । जब उनी आफ्ना सहपाठीसित कुराकानी गर्न थाल्थे, त्यतिखेर सबै मन्त्रमुग्ध भएर उनलाई सुन्थे । एकपटक खाजा खाने छुट्टीको क्रममा नरेन्द्र आफ्ना केही साथीलाई कथा सुनाउन थाले । उनी कथा सुनाउन र उनका साथी कथा सुन्न यतिबिघ्न तल्लीन भए कि उनीहरूलाई खाजा खाने समय सकिएको घन्टी बजेको पनि थाहा भएन र कक्षामा गुरु आएर पढाउन सुरु गरिसकेको पनि पत्तै भएन ।
एकैछिन पढाएपछि गुरुले कक्षाकोठाभित्र कुनै गुनगुनाहट सुने । ‘कक्षामा को बोलिरहेको छ ?’ उनले अलि चर्को स्वरमा प्रश्न गरे । कक्षाका छात्रहरूले नरेन्द्र र उनका साथीहरूतिर संकेत गरिदिए । गुरु निकै क्रोधित भए । उनले तुरुन्तै सो समूहका विद्यार्थीलाई अगाडि बोलाए र आफूले भर्खरै पढाएको पाठसँग सम्बद्ध एक–एक प्रश्न सोध्न थाले । नरेन्द्रका साथीहरूले कुनै पनि उत्तर दिन सकेनन् । गुरुले उनीहरूलाई बेन्चमाथि उभिने सजाय दिए ।
नरेन्द्रको पालो आयो । गुरुले उनलाई पनि साथीहरूलाई जस्तै प्रश्न गरे । तर अचम्म ! नरेन्द्रले त पहिल्यैदेखि आफूलाई थाहा भएजस्तै गरी सजिलै सबै प्रश्नको सही उत्तर दिए । यो देख्दा बाँकी विद्यार्थी हल्ला गरिरहेका भए पनि नरेन्द्रले चाहिँ पढाइमै ध्यान दिइरहेकोमा गुरु विश्वस्त भए । त्यसैले, उनले नरेन्द्रका साथीलाई सजाय दिए पनि उनलाई भने आफ्नो बेन्चमा बस्ने अनुमति दिए । तर, नरेन्द्र पनि साथीहरूले जस्तै बेन्चमाथि उभिए । यो देखेर गुरुले भने– नरेन्द्र, तिमी बस ।
गुरुको आदेश पाएपछि नरेन्द्रले भने– होइन गुरु, म पनि यसैगरी उभिनु नै ठिक हुन्छ । किनकि, मेरै कारण त मेरा साथीहरूले सजाय पाएका हुन् । उनीहरू त चुपचाप सुनिरहेका थिए । बोल्ने त म मात्रै पो थिएँ त ! हो, तिनै इमानदार बालक पछि गएर स्वामी विवेकानन्दका नामले विख्यात भए ।