लुम्बिनीका मुख्यमन्त्री आचार्य नेतृत्वको टोली चीन भ्रमणमा जाने

मंगलबार, २० कार्तिक, २०८१
डिजिटल संस्करण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन्। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।

सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्यको नेतृत्वमा सात सदस्यीय प्रतिनिधिमण्डल चीन जान लागेको हो। सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न (नोभेम्बर ११ देखि १३) कात्तिक २६, २७ र २८ गते अन्तराष्ट्रिय सम्मेलन हुँदै छ। सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने निर्णय गरिएको छ। 

मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा जान लागेका हुन्। यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबिच पारिस्परिक सहयोग तथा सदभाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको प्रदेश सरकारले जनाएको छ।

भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यबारे समेत उच्चस्तरीय भेटवार्ता हुने जनाइएको छ।

२०७६ सालमा प्रदेश सरकार र सिचुआन प्रान्तबिच भगिनी सम्बन्ध कायम गरिएको थियो। कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबिच सहयोग आदान–प्रदान गर्ने समझदारी भएको थियो।

सुझावित समाचार