२३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ३० प्रतिशत अन्तर्राष्ट्रिय उडान कटौती हुने भएको छ । ट्याक्सी वे, एप्रोनलगायत विस्तारका लागि विमानस्थलमा दैनिक १० घण्टा मात्रै सञ्चालन हुने हुँदा हिउँदे सिजनमा एकतिहाइ उडान कटौती गरिएको हो ।
स्तरोन्नतिका कारण त्रिभुवन विमानस्थलमा सातमा दुई सय ९५ उडान कटौती भएका हुन् । सातामा चार सय १० अन्तर्राष्ट्रिय उडान भइरहेकामा २३ कात्तिकदेखि दुई सय ८७ उडान मात्रै हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का सहप्रवक्ता ज्ञानेन्द्र भुलले बताए । यस्तै, त्रिभुवन विमानस्थलबाट हुने ३५ प्रतिशत आन्तरिक उडान पनि कटौती भएको उनको भनाइ छ ।
अहिले दैनिक २१ घण्टा उडान हुँदै आएको त्रिभुवन विमानस्थलमा स्तरोन्नतिको काम सुरु भएपछि १४ घण्टा मात्र उडान हुनेछ । पाँच महिना त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द हुने तालिका सार्वजनिक भइसकेको छ । विमानस्थलमा उडान आवर घटेका कारण वायुसेवा कम्पनीका उडान कटौती गर्नुपरेको भुलले बताए । दैनिक तीन–चार उडान गर्ने वायुसेवा कम्पनीहरूको ५० प्रतिशत उडान कटौती गरी विन्टर सेड्युल स्वीकृत गरिएको छ ।
क्यानले आधा उडानहरू भैरहवा र पोखराबाट गर्ने गरी ‘विन्टर सेड्युल’ पेस गर्न भनेको थियो । यसका लागि राज्यले ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङङेखि यात्रुसेवा शुल्क छुटसम्म विशेष सहुलियत दिएको थियो । तर, अन्तर्राष्ट्रिय वायुसेवा आधा उडान कटौती गर्न तयार भए, भैरहवा र पोखरामा उडान गर्न तयार देखिएनन् ।
२८ मध्ये तीनवटा वायुसेवा कम्पनीले मात्रै भैरहवामा अन्तर्राष्ट्रिय उडान गर्न तयार देखिए । थाई एयर एसियाले १८ कात्तिकदेखि बैंकक–भैरहवा उडान सुरु गरिसकेको छ । कुवेतको जजिरा एयरवेज र फ्लाई दुबईले २४ कात्तिकदेखि भैरहवामा उडान सुरु गर्दै छन् । जजिराको सातामा तीन र फ्लाई दुबईको दैनिक एउटा उडानतालिका स्वीकृत भएको छ । अरू वायुसेवा कम्पनीहरूले पछि उडान गर्ने, अध्ययन गरिरहेको, अझै समय चाहिन्छ भन्नेजस्ता जवाफ दिइरहेको सहप्रवक्ता भुलले बताए ।
दैनिक चार उडान गर्नेको दुईवटा कटौती
त्रिभुवन विमानस्थलमा दैनिक चारवटा उडान गर्नेको दुईवटा, दैनिक तीनवटा गर्नेको एक वा दुईवटा, दैनिक दुई उडान गर्नेको एक उडान कटौती भएका छन् । दैनिक एक वा सातामा तीन–चारवटा उडान गर्ने वायुसेवाका पनि उडान कटौती भएका छन् ।
भैरहवा उडान गर्न तयार नभएपछि थाई एयर एसियाले काठमाडौंमा विन्टर सेड्युल नै पाएको थिएन । १८ गतेदेखि भैरहवामा सातामा दुई उडान गर्ने भएपछि काठमाडौंमा साबिककै सातामा चार उडान स्वीकृत भएका छन् । एयर अरेबियाका दैनिक चारमध्ये दुई उडान कटौती भएका छन् । एयर अरेबियाले सारजहाँ–काठमाडौं दैनिक तीन र आबुधाबी–काठमाडौं दैनिक एक उडान गर्दै आएको थियो । कटौतीपछि सारजहाँ–काठमाडौं दैनिक एक उडान मात्र गर्न स्वीकृति पाएको छ ।
एयर इन्डियाको नयाँल्लिी–काठमाडौं दैनिक तीन उडानमध्ये एउटा कटौती भएको छ । बाटिक एयरको क्वालालम्पुर–काठमाडौं उडान कटौती भएर दैनिक एउटामा सीमित भएको छ । चाइना साउर्दनको ग्वाङझाओ–काठमाडौं दैनिक दुईमध्ये एउटा कटौतीमा परेको छ । फ्लाई दुबईले दुबई–काठमाडौं दैनिक चारवटा उडान गर्दै आएको थियो । भैरहवामा दैनिक एउटा उडान गर्ने भएपछि त्रिभुवन विमानस्थलमा उडान कटौती नगरी दुबई–काठमाडौं दैनिक तीन उडान स्वीकृत गरिएको छ ।
हिमालय एयरलाइन्सको क्वालालम्पुर–काठमाडौं दैनिक दुईमध्ये एक, काठमाडौं–बेइजिङ सातामा तीनमध्ये एक, काठमाडौं–किङ्दाओ सातामा तीनमध्ये एक उडान मात्र स्वीकृत भएका छन् । हिमालयले यसअघि उडान नगर्ने आबुधाबी, कुवेत, चाङ्सा र सांघाई उडान गर्न स्वीकृति पाएको छ । इन्डिगोका दिल्ली–काठमाडौं दैनिक तीनमध्ये एउटा मात्र उडान स्वीकृति पाएको छ । जजिराको दैनिक एकमध्ये अब सातामा तीन उडान मात्र गर्ने भएको छ ।
कुवेतको सातामा पाँचमध्ये तीन उडान मात्र स्वीकृत भएका छन् भने नेपाल वायुसेवा निगमले काठमाडौं–दिल्ली दैनिक दुईमध्ये एउटा गर्न पाउनेछ । एउटा वाइडबडी सि–चेकका लागि इटाली लगेर थन्क्याइएपछि निगमले यसअघि नै काठमाडौं–दिल्ली दैनिक एक मात्र उडान गर्दै आएको छ । यस्तै, कतार एयरका दैनिक चारमध्ये दुई उडान कटौती हुँदा थाई एयरवेजका दैनिक दुईमध्ये एक उडान कटौती गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वार्षिक ९० लाख यात्रु ह्यान्डलिङ क्षमता रहेको छ । विमानस्थल २१ घण्टा सुचारु हुँदै करिब ९० लाख यात्रु संख्या पुगिसकेको छ । अर्थात्, विमानस्थलको क्षमता स्याचुरेसनमा पुगेको देखिन्छ । त्यसमाथि सात घण्टा उडान अवधि घट्दा सबै वायुसेवालाई काठमाडौंमै स्लट दिन नसकिएको क्यानको जिकिर छ ।
भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडान सिफ्ट गर्नका लागि ल्यान्डिङ, पार्किङ, नेभिगेसन, सुरक्षा, ग्राउन्ड ह्यान्डलिङमा ७५ प्रतिशत छुट दिइएको छ । अन्तर्राष्ट्रिय उडान आकर्षित भैरहवा र पोखराबाट यात्रा गर्ने यात्रुलाई भ्याट छुट, हवाई इन्धनमा छुट, यात्रु सेवा शुल्कमा छुट दिने निर्णय भएको छ । यस्तै, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि न्यूनतम सेवाहरू श्रम डेस्क स्थापना, अध्यागमन पूर्ण रूपमा सञ्चालन, भिसा सेन्टर स्थापनालगायतमा पनि विशेष पहलकदमी भइरहेको पर्यटनमन्त्री बद्री पाण्डेको भनाइ छ ।