तिहारले नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् : सभामुख

आइतबार, १८ कार्तिक, २०८१
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले शुभ–दीपावली (तिहार), २०८१ को पावन अवसरमा नेपालीबिचको आपसी मेलमिलाप, भ्रातृत्व र सहिष्णुता विकास गर्न सबैलाई प्रेरणा प्रदान होस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

उनले आज एक सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सन्देशमा भनिएको छ, ‘तिहारले आपसी मेलमिलाप, भ्रातृत्व र सामाजिक सदभावलाई सुदृढ बनाउँदै सबै नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस् भन्ने कामना गर्दछु ।’

तिहार हिन्दु धर्मावलम्बीहरूको बाहुल्य भएका नेपाल, भारतसहित विश्वका विभिन्न मुलुकहरूमा तामझामका साथ मनाइन्छ । नेपालीहरू अन्य देशमा बसोवास गर्नेको संख्या बढेसँगै विभिन्न देशहरूमा तिहारलाई सांस्कृतिक पर्वका रूपमा मनाउने गरिएको छ ।

यमपञ्चकमा काग, कुकुर, गाई–गोरु आदिको पूजा गरिने भएकाले तिहारलाई जनावर एवं प्रकृतिसँगको मानवसम्बन्ध दर्शाउने पर्वका रूपमा लिइन्छ । साथै दाजुभाइ–दिदीबहिनीको आपसी सम्बन्धलाई बलियो बनाउन विशेष भूमिका निभाएकाले यस पर्वले सामाजिक, सांस्कृतिक र धार्मिक महत्त्व बोकेको छ ।

‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक हो,’ सन्देशमा भनिएको छ, ‘तिहारजस्ता पर्वले विविधताबिचको एकता, सामाजिक–सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावको संरक्षण गर्न मद्दत गर्ने विश्वास लिएको छु ।’ 

तिहार नेपालीहरू र विशेषतः नेपाली हिन्दुहरूको सबैभन्दा ठुला पर्वहरूमध्ये एक हो । यो पर्व नेपाली हिन्दु पात्रोअनुसार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन कागतिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ ।     

See More On

सुझावित समाचार