विमल गुरुङ कृति पुरस्कार थाम्सुहाङकाे ‘शब्दथुम’ लाई प्रदान गरिने घोषणा

कवि विमल गुरुङको ५३औं जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद राशी दुईलाख अर्पण गरिने

शुक्रबार, १६ कार्तिक, २०८१
डिजिटल संस्करण

कवि तथा निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’लाई ‘विमल गुरुङ कृति पुरस्कार–२०८०’ प्रदान गरिने भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्तीको अवसर पारेर पुस्तकालय समितिले पत्रकार सम्मेलन गर्दै विमल कृति पुरस्कार कवि निबन्धकार थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई प्रदान गर्ने घोषणा गरेको हो। धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले प्रत्येक वर्ष विमल गुरुङ कृति पुरस्कार वितरण गर्दै आएको छ।

पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार विमल कृति पुरस्कारका लागि स्वदेश र विदेशबाट प्रकाशित नेपाली भाषाका १०२ पुस्तकहरू दर्ता भएका थिए। तीमध्ये यसअघि १० उत्कृष्ट पुस्तक छनोट गरिएको थियो। तिनै १० उत्कृष्टमध्येबाट थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ लाई विमल कृति पुरस्कार प्रदान गर्न उचित भएको सिफारिस निर्णायक समितिबाट प्राप्त भएको अध्यक्ष गुरुङले बताए। 

निर्णायक समितिले शब्दथुम निबन्ध कृतिले शब्दको शक्तिलाई पुष्टि गर्ने प्रयत्न गरेको र कृतिभित्र रैथाने चेतदेखि वैश्विक चिन्तन र मीमांशा पाएको उल्लेख गरेको छ। 

थाम्सुहाङको कृतिमा रहेका निबन्ध चिन्तनले समतामूलक समाजको परिकल्पना गर्दै सुन्दर समाज निर्माण गर्ने पक्षमा वकालत गर्दै ‘शब्दथुम’ याक्थुङ मुन्धुम, हिन्दुको वेद, क्रिस्चियनको बाइबल, मुस्लिमको कुरान र बौद्धको त्रिपिटकले भन्ने गरेको शब्दशक्तिलाई विश्वास गरेको कृति भएको ठहर गरेको छ। 

‘शब्दथुम’भित्र पूर्वेली पहिचान बोकेको रैथाने संस्कृति, रैथाने चेत र रैथाने जीवनशैलीलाई मिहिन रूपमा उतारिएको छ। र, तिनै रैथाने चेत, संस्कृति र जीवनशैलीलाई आवाज दिने काम निबन्धले गरेको छ। निबन्धसंग्रहभित्र आफ्नो भूगोलको सांस्कृतिक पक्ष र सीमान्तकृत चेतलाई उजागर गर्दै सशक्त विचार प्रवाह पनि गरिएको छ। शब्दथुममा माटोको सुगन्ध र सांस्कृतिक रोमाञ्चकताले भर्दै आफ्नो समुदाय र परम्परामाथि सालिन विमर्श गरिएको छ।

याक्थुङ लेखक संघका केन्द्रीय अध्यक्षसमेत रहेका थाम्सुहाङले १७ वर्षअघि ‘पालामको मूर्छन्ना’ कवितासंग्रह निकालेका थिए। विमल कृति पुरस्कार कात्तिक २४ गते आयोजना हुने ३३औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५३औँ जन्मजयन्तीको अवसरमा कृतिकार प्रकाश थाम्सुहाङलाई नगद राशी दुई लाख रुपैयाँ अर्पण गरिने समितिका उपाध्यक्ष प्रदीप मेन्याङ्बोले बताए। 

यसअघि काङमाङ नरेशको कविता संग्रह ‘तेप्लायु’, चन्द्र गुरुङको कवितासंग्रह जब एउटा मान्छे हराउँछ र दार्जिलिङका विजय बान्तवा कैलाशीको कृति मित्याङ्सालाई प्रदान गरिएको थियो। विमल कृतिका पुरस्कारका लागि छनोटमा परेका १० कृतिहरूमा दाजु गुरुङको उपन्यास निरजोया, अभय श्रेष्ठको कवितासंग्रह लहना र तीर, गगन योक्पाङ्देनको कवितासंग्रह केवाफुंको गीत, मोमिलाको निबन्धसंग्रह प्रश्नहरू त बाँकी नै रहन्छन्, जसकुमार राई र अर्जुन उप्रेतीको संयुक्त लेखन रहेको रत्न बान्तवाको जीवनी नेपालमा सुरुङ युद्ध, इन्दु नेपाल योन्जनको कवितासंग्रह अन्तिम सेलो, प्रकाश थाम्सुहाङको निबन्धसंग्रह शब्दथुम, अखण्ड भण्डारीको उपन्यास बोरा, प्रवीण खालिङको निबन्धसंग्रह चियागफ, मन्जुला तामाङ सुब्बाको कवितासंग्रह कुहिरोभित्र घुम जोरबंगलो रहेका थिए।

यसैगरी, पुस्तकालय समितिका उपाध्यक्ष मेन्याङ्बोका अनुसार उक्त अवसरमा सुनसरीको तरहरा बसेर नेपाली साहित्यसँगै पत्रकारिता गर्दै आएका सिर्जनशील युवा विवेक विवश रेग्मीलाई यो वर्षको ‘कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा प्रतिभा सम्मान’ प्रदान गरिनेछ।

उनका अनुसार उक्त अवसरमा सिक्किमका लेखक टिबीचन्द्र सुब्बा, १०३ वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ, अर्का ज्येष्ठ नागरिक बीरेन गुरुङलाई पनि सम्मान गरिनेछ। उनका अनुसार सोही दिन उत्कृष्ट १० कवितामध्ये प्रथम, द्वितीय र तृतीय हुने कविहरूलाई पनि क्रमशः नगद २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिनेछ।

उत्कृष्ट १० कविताहरूमा खोटाङका अनाम अपेक्षितको एउटा सडकको समालोचना, संखुवासभाका सिजन श्रेष्ठको तेजबहादुर दर्जी, नवलपरासीका अन्जान प्रदीपको सपना, बेलायतका शान्ति लिम्बूको थेम्स नदीको किनारै किनार, मोरङका समीक्षा छिलिङ राईको फूल र म, इलामका दीपेन्द्र आचार्यको ल्याप्चे, सुनसरीका मिन्जाई राईको बुढो परदेशी, फ्रान्सका प्रशान्त उप्रेतीको विलासी राता बाकस, ताप्लेजुङका लेकाली कान्छा मुक्कुमका रैथाने बगैँचाको अर्गानिक मुस्कान र सुनसरीका दीपा मंग्रातीको देशमा मेरो अनुहार रहेका छन्।

See More On

सुझावित समाचार