संघ परिवारले आह्वान गर्ने एकतामा प्रश्न

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण

‘बँटेंगे तो कटेंगे’जस्ता साम्प्रदायिक नारा सामान्य हुनुले भारत गान्धीवादी सहिष्णुताका आदर्शबाट च्युत भएको देखाउँछ 

राष्ट्रिय स्वयंसेवक संघ (संघ परिवार) को पछिल्लो नारा ‘बँटेंगे तो कटेंगे’ (विभाजित भए नासिन्छौँ) हिन्दुमाझ डर र उत्तेजना जगाउन प्रयोग गरिँदै छ । यो नाराले हिन्दु समुदायमा हुने विभाजनले हिंसा निम्त्याउँछ भन्ने सुझाव दिन्छ । हिन्दुत्व राजनीतिले लगातार तेस्रो कार्यकालमा सत्तामा पकड जमाउँदा अल्पसंख्यक विशेषतः मुसलमानले गम्भीर सीमान्तीकरणको सामना गर्नुपरिरहेका वेला बहुसंख्यक हिन्दु समुदायबिच भय उत्पन्न गराउन यो रणनीति आएको छ । विडम्बना के छ भने बहुसंख्यकको आत्मविश्वास र सुरक्षालाई प्रोत्साहन गर्नुको सट्टा यो नाराले हिन्दुमाझ कथित पीडित हुनुको भावनालाई बढाइरहेको छ । वास्तवमा सत्तामा पूर्ण नियन्त्रण हुँदा शासक शक्तिले बरु अधिक सहिष्णुता र करुणालाई प्रोत्साहित गर्न सक्छन्, जुन स्वस्थ समाजका लागि आवश्यक छ । 

भारतीय जनता पार्टी (भाजपा) ले काल्पनिक अल्पसंख्यकको खतरा देखाएर भयग्रस्त हिन्दु बनाउँदै छ, जहाँ मुख्य तारो मुसलमान छन् । यो ‘खतरा’ले आफूइतर समुदायमाथि घृणा बढाउँछ र गान्धीको सहिष्णुता एवं शान्तिपूर्ण सहअस्तित्वको दृष्टिकोणलाई कमजोर बनाउँछ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले प्रचलनमा ल्याएको ‘बटेंगे तो कटेंगे’जस्ता नाराले भाजपा नेताको विभाजनकारी भाष्यलाई बलियो बनाउँछ र राजनीतिक प्रतिद्वन्द्वीलाई हिन्दु एकताका लागि आह्वान गरिएको दबाबलाई चुनौती दिन असहज बनाइदिन्छ । तर, वास्तविक प्रश्न संघ परिवार कस्तो प्रकारको एकता खोजिरहेको छ भन्ने हो ?

भारतीय एकताको सबैभन्दा ठुलो उदाहरण महात्मा गान्धीको नेतृत्वमा भएको स्वतन्त्रता आन्दोलन थियो । यसमा भाजपाको वैचारिक आधार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) टाढा रह्यो र पछि गान्धीको हत्या निम्त्याउने वातावरणलाई प्रोत्साहन गरेको भन्दै प्रतिबन्ध लगाइयो । के आरएसएस–भाजपाले सर्वोच्च अदालतले अपराध मानेको बाबरी मस्जिद भत्काउँदाको जस्तो एकता खोज्छ ? आरएसएस स्थापनाको सय वर्ष पूरा हुँदै गर्दा यसको एकताको अवधारणामा प्रश्न उठ्छ । के यो नाजी जर्मनीमा एडोल्फ हिटलरले भन्ने गरेको एकताबाट प्रेरित हो ? आरएसएस नेता एमएस गोलवालकरले एकपटक जर्मनीको ‘नश्ल गौरव’को प्रशंसा गरेका थिए । र, यसलाई भारतका लागि प्रेरणाका रूपमा हेरेका थिए । यो ‘नश्ल गौरव’ले अन्ततः विश्वव्यापी प्रकोप निम्त्यायो र सामूहिक त्रासदीको नेतृत्व गर्यो । 

योगी आदित्यनाथको बटेंगे तो कटेंगे भन्ने नाराको अर्थ हिन्दुलाई परिचालित गराउनु हो भन्नेमा दुई मत छैन । किनभने महाराष्ट्रको भाषणमा उनले सडकमा नमाज रोकेको र मस्जिदका लाउडस्पिकर हटाएका जस्ता मुसलमानविरुद्ध कामको डिङ हाँकेका थिए । उनको शासन मोडेल मुठभेड, बुलडोजर र अल्पसंख्यकमाझ भय पैदा गर्नमा निर्भर छ । केन्द्रीय मन्त्री गिरिराज सिंहले यही नारा दोहोर्याएका थिए । उनले हिन्दुलाई मुसलमानलगायत ‘घुसपैठिया’बाट हुने आक्रमणविरुद्ध ‘आत्मरक्षा’का लागि घरमा हतियार राख्न आग्रह गरेका थिए ।  र, उनले मुसलमान ‘शत्रु’विरुद्ध हिन्दु एकता आवश्यक रहेको नभए ‘बटोगे तो कटोगे’ भनेका थिए । भारत गान्धीवादी सहिष्णुताका आदर्शबाट च्युत भएको छ वा छैन भन्ने प्रश्नको उत्तरका लागि यी उदाहरण पर्याप्त छैनन् र ? 

प्रधानमन्त्री मोदी र आरएसएससहित भाजपा नेताले यस नारालाई समर्थन गरेका छन् । आमहिन्दुले यसलाई वैचारिक आधार दिने संघ परिवारले प्रचार गर्ने गरेको एकतामा निहित विचारधारा र राजनीतिक उद्देश्यलाई आलोचनात्मक ढंगले गर्नुपर्छ । के यो एकताले समानता, न्याय र भ्रातृत्वका संवैधानिक मूल्यलाई चुनौती दिन्छ ? के संविधान र न्यायपालिका सत्ताको अधीनमा रहने अधिनायकवादी बहुसंख्यकवाद सिर्जना गर्नु एकता हो ? के आफूइतर धर्मका व्यक्तिलाई ‘शत्रु’ करार गर्नु एकता हो ? जब नेता कटेंगे भन्छन्, तब ‘काट्ने’ आक्रमणकारी कसलाई भनिएको हो ? पाकिस्तान, चीन वा अन्य कुनै मुलुक ? यदि बाह्य आक्रमणकारीको खतरा हो भने त्यो एकताको छातामुनि भारतका सबै नागरिक अटाउनुपर्छ । यदि खतरा घरभित्रकै हो भने के यी नारा लगाउनेले अल्पसंख्यकलाई ‘आक्रमणकारी’ भनिरहेका हुन् ? के शिख वा मुसलमान वा जैन वा बौद्ध वा इसाई वा पारसी हिन्दुलाई सिध्याउन लागिपरेका छन् ? के आरएसएस–भाजपाले यो योजनाबारे कुनै प्रमाण भेटेको छ ? छैन, बिल्कुल छैन । आरएसएस–भाजपाले राजनीतिक शक्ति आर्जन गर्न काल्पनिक एजेन्डा निर्माण गरेर अल्पसंख्यकलाई बदनाम गरिरहेको छ । के गैरहिन्दू बहुसंख्यक वा अल्पसंख्यकको हित राष्ट्रिय हितसँग बाझिन्छ ? हो भने संविधानको रक्षा गर्ने शपथ लिएको सत्तारुढ दलले यो दाबी नै कसरी गर्न सक्छ ?

सूक्ष्म रूपमा हेर्दा राष्ट्रवादी एजेन्डा नभई पार्टीगत एजेन्डा हो । यी नेताले भारतीयको सांस्कृतिक र सामाजिक सुरक्षा राजनीतिक विचारको स्वतन्त्रता प्रोत्साहनमा नभई भाजपाप्रतिको बफादारीमा निर्भर रहेको संकेत गर्छन् । यिनले नागरिकको धार्मिक अभ्यासको विविधतामा उपेक्षा गर्दै राजनीतिक अनुरूपता खोज्छन् । यिनले जनतालाई राजनीतिक प्रयोजनका काम लाग्ने विचारविहीन रोबोटका रूपमा हेर्न चाहन्छन् । मोदी सरकारका पूर्वकेन्द्रीय अल्पसंख्यक मन्त्री मुख्तार अब्बास नक्वीजस्ता मुसलमान भाजपासँग रहँदा ‘सुरक्षित’ हुन्छन्, जबकि गिरिराज सिंहजस्ता भाजपा नेताको आक्रामकतालाई अस्वीकार गर्नेमा हिन्दु हुने ल्याकत हुँदैन । 

आरएसएस–भाजपाका लागि राजनीति र विचारधारा इच्छाअनुसार बदलिने औजार मात्र हुन् । यो कहिले ‘सबका साथ, सबका विकास’जस्ता समावेशी नारादेखि ‘बटेंगे तो कटेंगे’ जस्ता विभाजनकारी बयानबाजीका रूपमा प्रकट हुन्छन्, अर्थात् एक दिन सहअस्तित्व र अर्को चरम ध्रुवीकरण । एकताले विभाजनलाई कम गर्नुपर्छ । ‘बटेंगे तो कटेंगे’ भारतीयको नभई भाजपाको नारा हो ।

(झा राजनीतिक टिप्पणीकार हुन्)  द वायरबाट
 
 

सुझावित समाचार