मोटरसाइकल चोरी गरेको आरोपमा दुई युवा पक्राउ

बिहिबार, १५ कार्तिक, २०८१
डिजिटल संस्करण

बाराको निजगढ नगरपालिकाबाट मोटरसाइकल चोरी गरेको आरोपमा निजगढ प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । प्रहरीले बाराको कोल्हबी र रौतहटको गुजरा नगरपालिकाका दुईजना युवकलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय निजगढको टोलीले कोल्हबी नगरपालिका– ११ बस्ने प्रह्लाद चौधरीको छोरा वर्ष २८ को राकेशकुमार चौधरी र रौतहटको गुजरा नगरपालिका– ८ मनहर्वा बस्ने कृष्ण चौधरीको छोरा वर्ष २४ को मिथुन चौधरीलाई चोरीको मोटरसाइकलसहित मंगलबार पक्राउ गरेर सार्वजनिक गरेको छ ।

निजगढ नगरपालिका– ८ को वडा कार्यालयनजिक पार्किङ गरेको स्थानबाट प्र.२–०३–०१९ प ८०५८ नम्बरको निलो रङको १५० सिसीको मोटरसाइकल सोमबार दिउँसो चोरी भएको थियो । 

मोटरसाइकल चोरी भएको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक सुमित कुसवाहको नेतृत्वमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित उनीहरूलाई निजगढ– ८ स्थित तामागढी गेटनजिकबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका दुवैजनामाथि आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाराबाट बुधबार म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुसवाहले जानकारी दिए ।

See More On

सुझावित समाचार