कम्युनिस्ट पार्टीका नेताहरूले आत्मसमीक्षा गर्दै एकतासम्म पुग्नुपर्नेमा जोड दिएका छन् । कम्युनिस्टको बहुमत नआई देशमा केही नहुने भन्दै उनीहरूले विगतको समीक्षा र आत्मसमीक्षा गर्दै एकतासम्म पुग्नुपर्नेमा जोड दिएका हुन् । कम्युनिस्टहरू मिलेर मात्रै समाजवादको आधार तयार पार्न सकिने उनीहरूको ठम्याइ छ ।
नेकपाका संस्थापक नरबहादुर कर्माचार्यको जन्मशताब्दीका अवसरमा माओवादीले राजधानीमा बुधबार आयोजना गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको ७५ वर्ष र आगामी कार्यभार’ विषयक गोष्ठीमा एमाले, माओवादी, एकीकृत समाजवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मसालका नेताहरूले आत्मसमीक्षा गर्दै कम्युनिस्ट एकतामा पुग्नुपर्नेमा जोड दिएका हुन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनको एकता र रूपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए । आत्मसमीक्षा तीन तहमा हुनुपर्नेमा उनले जोड दिए । ‘कम्युनिस्ट आन्दोलनमा लागेका हरेक नेता–कार्यकर्ताले आफैँभित्र आत्मसमीक्षा गरौँ । हरेक पार्टीभित्र इमानदार आत्मसमीक्षा गरौँ । अनि बल्ल कम्युनिस्ट पार्टीहरूको बिचमा आत्मसमीक्षा गरौँ,’ प्रचण्डले भने ।
हरेक कम्युनिस्ट नेता तथा कार्यकर्ता र पार्टीहरूले क्रान्तिलाई किन सही रूपले अघि बढाउन नसकेको र आममानिसमा निराशा बढिरहेको बारे आत्ममीक्षालाई संघर्षकै रूपमा अघि बढाउनुपर्ने उनले बताए । ‘म देशभरका कम्युनिस्टहरूलाई गम्भीर आत्मसमीक्षाका लागि अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘म आदर्शका रूपमा मात्र यसो भनिरहेको छैन, हाम्रो पार्टीभित्र गम्भीर आत्मसीक्षा सुरु गरेर मात्रै अरूलाई अपिल गर्न थालेको हुँ ।’ क्रान्तिकारीहरूले आफ्नो गल्ती स्वीकार गर्न सक्नुपर्ने उनले बताए । आत्मसमीक्षाले मात्रै कम्युनिस्ट पार्टीहरूमा एकता, रूपान्तरण र नयाँ क्रान्तिको प्रक्रिया सुरु हुने उनले बताए । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपलब्धि र कमजोरीको समीक्षा गरेर जानुपर्ने बताए । कम्युनिस्ट आन्दोलनभित्र रहेको दक्षिणपन्थी र जडसूत्रीय चिन्तनका विरुद्ध संघर्ष गर्नुपर्नेमा उनले जोड दिए । जनवादी क्रान्तिको चरण सकिएकाले अब समाजवादी क्रान्तिको कार्यक्रम सुरु गर्नुपर्ने र नेपाली मोडलको समाजवादको खाकामा बहस गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गणतन्त्र स्थापनामा कम्युनिस्ट आन्दोलनको नेतृत्वदायी भूमिका रहेकाले अब समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने बताए । समाजवादी कार्यक्रमलाई कार्यनीति वा रणनीति के बनाउने बहसको आवश्यकता रहेको उनले बताए । पार्टीभित्र रूपान्तरण गर्दै श्रेष्ठता हासिल गर्ने अभ्यास गर्दै जाँदा पुनः कम्युनिष्टहरूबिच सुदृढ एकता कायम हुने विश्वास उनको छ ।