विपतले पूर्वाधारको मोडलमाथि बहस सिर्जना गर्‍यो : भौतिकमन्त्री दाहाल

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले मध्यअसोजको बाढीपहिरो (विपत्)ले पूर्वाधार विकासको मोडलमाथि बहस सिर्जना गरेको बताएका छन्। नेपाल भौगर्भिक समाजले विपत् जोखिम न्यूनीकरण दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री दाहालले तीन दिनको वर्षाले ८१ मध्ये ३९ राजमार्गका ८११ ठाउँमा अवरुद्ध भएको घटनाले अब पूर्वाधार विकासको मोडल कस्तो बनाउने भन्नेमा बहस सिर्जना गरेको बताए । यसका लागि भूगर्भविद्, इन्जिनियर र हाइड्रोलोजिस्टहरूबिच बृहत् छलफल गरी मन्त्रालयलाई सुझाव दिन उनले आह्वान गरे । 

‘के पूर्वाधार निर्माण गर्दा डिजाइन ठिक छन् ?, भूगोल र माटोको प्रकृतिसँग सन्तुलन मिलाएर डिजाइन गरिएको थियो ?, के भौगर्भिक र वातावरणीय अध्ययन भएका थिए ?,’ मन्त्री दाहालले प्रश्न गरे, ‘काठमाडौंको लाफइलाइन पृथ्वी राजमार्ग (नारायणगढ–मुग्लिन सडक), बिपी राजमार्गको खुर्कोट खण्ड, अरनिको राजमार्गसहितका राजमार्ग पुनर्निर्माणमा अध्ययन गरेर सुझाव दिन म भौगर्भिक समाजलाई अनुरोध गर्दछु ।’ 

यसपालिको बाढीपहिरोले काठमाडौंसँगका राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक सडकको सहारा लिनुपरेको उल्लेख गर्दै मन्त्री दाहालले भने, ‘यसले के शिक्षा दियो भने हामीले  वैकल्पिक सडक पनि स्याहारसम्भार गरिराख्नुपर्ने रहेछ, मर्मत गर्ने, झारपात उखेल्नु गरिराख्नुपर्ने रहेछ ।’  मन्त्री दाहालले सिंगो नेपालको भौगर्भिक एक्सरे आवश्यक रहेको बताए । बढी आवागमन हुने, राजस्वमा प्रभाव पार्ने क्षेत्र, पहाडी र हिमाली सडक, आन्तरिक उत्पादनलाई बजारसँग जोड्ने सडकलाई सरकारले प्राथमिकता दिएको उनले बताए । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले भौतिक विकासमा विस्तृत भौगर्भिक अध्ययनको महत्त्व बढ्दै गएको बताए । ‘मुलुकको कुल भूभागको १६ प्रतिशत मात्र समथर छ, भूकम्पको जोखिम त छँदै छ । बाढीको कटान र पहिरोले पुल, सडकमा क्षति बढ्दै गएको छ,’ सचिव शर्माले भने, ‘विकासको चरणमा विचार पुर्याउनुपर्ने देखियो ।’

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का सचिव रवीन्द्र ढकालले नेपालमा विपतकाे जोखिम झनझन् बढ्दै गएको, तर विज्ञान प्रविधिमा विद्यार्थीको रुचि घट्दै जाँदा जोखिम निम्त्याएको बताए । ‘प्राविधिक जनशक्तिको खाँचो बढेको छ । तर,  २० प्रतिशत विद्यार्थी मात्र प्राविधिकतर्फका छन्,’ उनले भने, ‘राज्यले विज्ञान, प्रविधिमा लगानी  बढाएर युवा जनशक्तिबाट लाभ लिनुपर्छ ।’

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्ष बाढीपहिरोले अर्बौँको क्षति पुर्याएको बताए। ‘नदीमा पानीको बहाव मात्र होइन, गेग्रान, ढुंगा, माटो मिसिएको बाढीले क्षति बढाएको छ,’ कार्यकारी प्रमुख पोखरेलले भने, ‘यसले झनै जोखिम बढाएको हो ।’ 

नेपाल इन्जिनियर्स एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले एसोसिएसनमा ८० हजार इन्जिनियर आबद्ध रहेकाले विपत् जोखिम न्यूनीकरणका लागि नीति निर्माण तहमा सघाउन तयार रहेको बताए । ‘राजयले विषयविज्ञताको उपयोग गर्नुपर्छ, हामी सघाउन तयार छौँ,’ उनले भने ।

भूगर्भविद् सुबाेध ढकालले विपतबाट भौतिक पूर्वाधार निर्माणअघि भौगर्भिक र वातावरणीय अध्ययन अनिवार्य हुन आवश्यक रहेको बताए । क्षति बढे पनि सडक विभागमा भूगर्भविद्काे दरबन्दीसमेत नरहेको उल्लेख गर्दै ढकालले भने, ‘सडक विभागले भौगर्भिक क्षेत्रलाई प्राथमिकता नराखेको हो कि ? तीन तहका सरकार छन् प्राविधिक जनशक्ति न्यून छ।’  नेपाल भौगर्भिक समाजका अध्यक्ष चन्द्रबहादुरले विज्ञ सम्मिलित कार्यक्रमको निष्कर्ष सरकारलाई बुझाइने बताए । कार्यक्रममा विज्ञहरूले प्रस्तुतीकरण राखेका थिए भने अन्तर्किया पनि भएको थियो ।

सुझावित समाचार