नेताको कार्यविभाजनबारे खनालको १४ बुँदे नीति प्रस्ताव

कार्यदलका सदस्यहरूले प्रस्तावको अध्ययन गरेपछि कार्यविभाजनबारे छलफल हुने

बुधबार, १४ कार्तिक, २०८१
डिजिटल संस्करण

एकीकृत समाजवादीका केन्द्रीय नेताहरूको कार्यविभाजनबारे सम्मानित नेता झलनाथ खनालले नीति प्रस्ताव प्रस्तुत गरेका छन् । पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको कार्यदल बैठकमा खनालले कार्यविभाजन कसरी गर्ने भन्ने सन्दर्भमा १४ बुँदे नीति प्रस्ताव राखेका हुन् । प्रस्ताव कार्यदलका सदस्यलाई अध्ययनका लागि वितरण गरिएको छ । 

कार्यदलका सदस्यहरूले प्रस्तावको अध्ययन गरेपछि अर्को बैठकमा कार्यविभाजनबारे छलफल हुने एक नेताले जानकारी दिए । ती नेताका अनुसार भूगोल र गैरभूगोल दुवै क्षेत्रमा योग्यता र क्षमताका आधारमा कार्यविभाजन गर्नुपर्ने प्रस्ताव खनालको छ । ‘भूगोलमा प्रदेश, जिल्ला कमिटी, निर्वाचन क्षेत्र हेरेर ८० प्रतिशत शक्ति लगाउनुपर्छ । बाँकी २० प्रतिशत गैरभूगोलमा लगाउनुपर्छ । २३ वटा जनसंगठन र विभागमा त्यही ढंगले परिचालन गर्नुपर्छ । संसदीय फाँटमा प्रभावकारी काम गर्ने नेतालाई जिम्मा दिनुपर्छ । प्रवासमा ठूलो संख्यामा नेपाली युवाहरू रहेकाले त्यहाँको पुँजी, प्रविधि र ज्ञानलाई समाजवादी क्रान्तिमा लगाउने गरी अगाडि बढ्नुपर्छ,’ खनालको नीति प्रस्तावबारे कार्यदलका एक सदस्यले भने ।

कार्यविभाजनका लागि अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता खनाल, वरिष्ठ नेताहरू डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत र प्रमेश हमाल तथा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल रहेको कार्यदलले पटकपटक छलफल गरे पनि निष्कर्षमा पुग्न सकेको छैन । जसकारण महाधिवेशनको चार महिनासम्म पनि नेताहरूको कार्यविभाजन हुन सकेको छैन । 

कार्यविभाजनअघि विवाद समाधानका लागि दबाब दिँदै आएको पक्ष र असन्तुष्ट पक्षसँग पार्टी नेतृत्वले छलफलसमेत गरेको छ । ‘अध्यक्षले एक्लै निर्णय लिन सक्ने अवस्था छैन । कार्यदलमा रहेका सदस्यहरू बिचमा सहमति जुट्न सकिराखेको छैन । त्यसैले महाधिवेशनको चार महिना हुँदासमेत कार्यविभाजन हुन सकेको छैन,’ एकीकृत समाजवादीका एक पदाधिकारीले नयाँ पत्रिकासँग भने । 

महाधिवेशन प्रतिनिधि तल्लो तहबाट छानिएर आउनुपर्ने निर्णय उल्ट्याउँदै केन्द्रीय सदस्य र निकायबाट स्वतः प्रतिनिधि हुने व्यवस्था गरिएपछि तल्लो कमिटीका नेताहरूमा असन्तुष्टि देखिएको थियो । महाधिवेशनमा केन्द्रीय सदस्य र पदाधिकारीको आकांक्षी धेरै भएपछि अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी चयन गर्दै बाँकी सदस्य चयन गर्ने जिम्मा नवनिर्वाचित केन्द्रीय कमिटीलाई दिइएको थियो । २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने विधान महाधिवेशनले पारित गरे पनि बढाएर ३४४ सदस्यीय केन्द्रीय कमिटी घोषण गरिएको थियो । त्यसपछि कमिटीमा नपरेका नेताहरू असन्तुष्ट बनेका छन् ।

पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचनले विवादलाई झन् बढाइदियो । निर्वाचनमा ‘चिर्कटो’ बाँडिएको विषयलाई लिएर नेताहरूले असन्तुष्टि जनाएका छन् । नेताहरूले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्दै आएका छन् । कतिपय नेताहरू महाधिवेशनपछि निष्क्रिय बसेका छन् । पदाधिकारी र पोलिटब्युरोमा पराजित नेताहरूले सबै कमिटी भंग गरेर अगाडि बढ्नुपर्ने माग गरेका छन् । पदाधिकारी र पोलिटब्युरो खारेज गर्दै केन्द्रीय कमिटी बैठक बोलाएर अगाडि बढ्नुपर्नेमा उनीहरूको जोड छ । एकीकृत समाजवादीमा त्यो पंक्ति डेढ सयभन्दा बढी छ । त्यही कारण अध्यक्ष नेपाल दबाबमा परेको उनीनिकट नेताहरू बताउँछन् । पार्टी एकता कायम राख्न असन्तुष्ट नेताहरूलाई समेटेर कार्यविभाजन गर्ने तयारी रहेको उपमहासचिव रामकुमार भट्टराईले बताए ।

सुझावित समाचार