नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले आइएसएफ जिम्नासाइड समर गेम्सको बक्सिङ स्पर्धामा स्वर्ण पदक जितेका छन् । बहराइनमा चलिरहेको जिम्नासाइडमा स्वस्तिका र नोर्बुले स्वर्ण पदकको भिडन्तमा ब्राजिलका खेलाडीलाई हराएका हुन् । नेपालको बक्सिङ इतिहासमा दक्षिण एसियाली खेलकुद (साग) पछि अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेको यो पहिलो अवसर हो । एसियाली स्तरमा महिला बक्सर सुस्मिता तामाङले रजत दिलाएकी थिइन् ।
बहराइनको मानामास्थित अल अहली क्लबमा भएको महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५–० ले पराजित हराइन् । उनले सेमिफाइनलमा ब्राजिलकी बारोस फरेरा मार्सेलो डीलाई ५–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी गरेकी थिइन् । बक्सिङका मुख्य प्रशिक्षक दीपक महर्जनले आप्mनो प्रशिक्षणमा एसियन बक्सिङ प्रतियोगितापछि ठूलो पदक हात पारेको बताएका छन् । ‘प्रशिक्षकका रूपमा मेरो यो पहिलो स्वर्ण हो,’ बहराइनबाट उनले भने, ‘यसअघि एसियन बक्सिङमा रजत पदक थियो ।’
तेस्रो अन्तर्राष्ट्रियमै स्वर्ण
स्वस्तिकाले अहिलेसम्म तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दा पहिलो अन्तर्राष्ट्रिय स्वर्ण हात पारेकी हुन् । सन् २०२१ मा दुबईमा भएको एसियाली जुनियर बक्सिङ प्रतियोगितामा उनले कांस्य जितेकी थिइन् । ठमेलस्थित एभरेस्ट माविबाट प्लस टु उत्तीर्ण गरेकी कञ्चनपुरनिवासी स्वस्तिकाले जोर्डनमा भएको एएसबिसी युथ तथा जुनियर बक्सिङमा पनि सहभागिता जनाएकी थिइन् । सन् २०२१ बाट बक्सिङ खेल्न थालेकी स्वस्तिकाले दुई वर्षअघि भएको खुला राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्ण जितेकी थिइन् । बक्सिङमा नेपालबाट सहभागी स्वस्तिका एक्लो महिला खेलाडी हुन् । उनले पहिलो अन्तर्राष्ट्रिय स्वर्ण जितेकोमा खुसी जनाइन् । ‘करिअरकै यो ऐतिहासिक पदक हो,’ स्वस्तिकाले भनिन्, ‘यो अवसर प्रदान गर्ने नेपाल बक्सिङ संघ र प्रशिक्षक दीपक महर्जनलाई धन्यवाद दिन चाहन्छु ।’
फाइनलमा नोर्बुले हराए ब्राजिलका रेजेन्डलाई
पुरुष ८० केजीमुनि युथमा नोर्बुले फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरलाई ३–२ ले हराउँदै स्वर्ण हात पारे । उनले सेमिफाइनलमा बहराइनका घरेलु खेलाडी अनास अल जलाकीलाई पाखा लगाउँदै अन्तिम दुईमा स्थान स्थान पक्का गरेका थिए । उनको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो । समग्रमा उनले दोस्रोपटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै स्वर्ण जितेका हुन् । कक्षा १२ मा लोयल्टी एकेडेमीमा अध्ययनरत नोर्बुले करिब एक वर्षअघि अर्मेनियामा भएको जुनियर विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाएका थिए । पाँच खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका चार खेलाडीले पदक जिते । नेपालले प्रतियोगितामा समान दुई स्वर्ण र कांस्य जित्यो ।