अस्ट्रेलियन अलराउन्डर वेन कटिङले नेपाल प्रिमियर लिग (एनपिएल)मा प्रतिस्पधा गर्ने भएका छन् । एनपिएलको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले मंगलबार कटिङसँग सम्झौता गरेको हो । लिगमा आएका विदेशी खेलाडीमध्ये कटिङ ठुला नाममा पर्छन् । उनीसँग विश्वकै चर्चित तथा महँगो लिग इन्डियन प्रिमियर (आइपिएल)बाट खेलेको अनुभव छ ।
कटिङले मुम्बई इन्डियन्स, राजस्थान रोयल्स तथा हैदराबादबाट आइपिएल खेलेका थिए । उनले अस्ट्रेलियाको बिग बास, क्यारेबियन प्रिमियर, पाकिस्तान सुपर तथा बंगलादेश प्रिमियर खेलेका छन् । अन्तर्राष्ट्रिय करिअरका रूपमा उनले अस्ट्रेलियाबाट चार एकदिवसीय तथा ७ टी–२० आई खेलेका छन् । सन् २०१४ पछि उनी अस्ट्रेलियन टोलीमा छैनन् ।
सन् २०१३ मा डेब्यु कटिङले अस्ट्रेलियाबाट चार वर्ष प्रतिस्पर्धा गरेका थिए । सन् २०१३ मा उनले श्रीलंकाविरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए । सन् २०१४ मा जिम्बावेविरुद्ध खेलेपछि उनी टोलीमा पर्न सकेनन् । यसैगरी, टी–२० आईमा उनले सन् २०१३ मा श्रीलंकाविरुद्ध डेब्यु गरे । सन् २०१७ मा उनले विश्व ११ बाट पाकिस्तानविरुद्ध अन्तिमपटक प्रतिस्पर्धा गरेका थिए । सन् २००८ मा उनले टी–२० खेलमा डेब्यु गरेका थिए ।
कर्णालीको हस्पिटालिटी पार्टनर हिल्टन
कर्णाली याक्सले एनपिएलमा आफ्नो हस्पिटालिटी पार्टनरमा हिल्टन होटेललाई भित्र्याएको छ । हिमायलन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णालीले मंगलबार हिल्टनसँग सम्झौता गरेको हो । कर्णालीका सहमालिक गृहेन्द्र घिमिरे र हिल्टनका महाप्रबन्धक श्रीधर थोटाले हस्ताक्षर गरेका छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजनासहित नेपालमा यसै वर्षदेखि सञ्चालनमा आएको पाँचतारे होटेलसँग सम्झौता भएको सहमालिक घिमिरेले बताए ।