भुक्तानी नपाएपछि नारायणगढ–बुटवल सडक खण्डका व्यवसायी आन्दोलित

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

बुटवल–नारायणगढ सडक खण्डमा निर्माण सामग्री उपलब्ध गराउने व्यवसायीहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै आन्दोलन सुरु गरेका छन्।

रामग्राम– ११, रानीपाकडमा रहेको आयोजनाको पश्चिम खण्डको कार्यालयमा प्लेकार्डसहित तत्काल बक्यौता रकम भुक्तानीको माग गर्दै व्यवसायी मंगलबारदेखि आन्दोलित भएका हुन्।

ढुंगा, गिटी र बालुवाका १३ वटा सप्लायर्स र क्रसर व्यवसायीको ८० करोड, पेटी ठेकेदारको १५ करोड र ढुवानीका लागि प्रयोग भएका सवारीसाधनको ६ करोड गरेर एक अर्बभन्दा बढी रकम भुक्तानी पाउन बाँकी रहेको नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका उपाध्यक्ष रामु अधिकारीले बताए।

पूर्वी र पश्चिम खण्डमा गरी स्थानीय ठेकेदारहरूले पनि एक वर्षदेखि करोडौँ रुपैयाँ भुक्तानी नपाएको गुनासो गरेका छन्। गत चैतदेखि ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले भुक्तानी नदिँदा व्यवसायी मर्कामा परेको अधिकारीले सुनाए। व्यवसायीले १५ दिनभित्र भुक्तानी नदिएमा थप संघर्षको कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका छन्। भुक्तानीका लागि पटक-पटक कार्यालयमा धाउँदा पनि बेवास्ता गरिएको व्यवसायीको गुनासो छ।

व्यवसायीलाई भुक्तानी रकम नदिएको ठेकेदारले वर्षाको कारण देखाउँदै रोकिएको नारायणगढ–बुटवल सडक खण्डको काम अझै सुरु गरेको छैन। तेस्रोपटक थप भएको म्याद तीन महिना सकिँदा पनि काम सुरु नहुँदा यो खण्डको यात्रा थप कष्टकर बन्दै गएको छ।

सम्झौताअनुसार काम भएको भए २०७५ चैतबाट सुरु भएर २०७९ साउनमा निर्माण सम्पन्न हुने थियो। तर, कोरोना, निर्माण सामग्रीको अभावजस्ता कारण देखाएर ठेकेदारले पर्याप्त जनशक्ति परिचालन नगर्दा सडक निर्माण अहिले पनि अलपत्र छ। पहिलोपटक २०८० साउन ११ गतेसम्मका लागि म्याद थप भएको थियो।

पहिलोपटक थप भएको म्यादमा काम सम्पन्न नभएपछि दोस्रोपटकका लागि २०८१ साउन ८ गतेसम्म म्याद थप भएको थियो। तर, दोस्रोपटक पनि काम सम्पन्न नभएपछि तेस्रोपटकका लागि २०८२ साउन ८ गतेसम्मका लागि म्याद थप भएको छ।

सुझावित समाचार