काठमाडौं–निजगढ (फास्ट ट्रयाक) द्रुत मार्ग टेन्डर विवादसम्बन्धी मुद्दा न्यायाधीशसँग मिलेर जिताइदिने आश्वासनमा ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका– १८ भैँसेपाटी बस्ने ४५ वर्षीय रवीन्द्र महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंबाट ०८१ कात्तिक ६ गते पक्राउ अनुमति जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट सोमबार पक्राउ गरेको हो।
महर्जनले काठमाडौं–निजगढ द्रुतमार्ग टेन्डरमा सहभागी हुने क्रममा भएको निर्णयउपर उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम लिएको प्रहरीले जनाएको छ। रकम नदिएमा मुद्दा हराइदिने धम्कीसमेत दिई नगद एक करोड २८ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए। पछि अदालतमा मुद्दा हारेपछि ती ठेकदारले प्रहरीमा उजुरी गरेका हुन्।
अदालतमा मुद्दा हाल्न पनि उनैले लगाएको खुलेको छ। न्यायाधीशको फोटो देखाउँदै आफ्नो चिनजान रहेको आश्वासन दिएर उनले ठगी गरेको प्रहरीले जनाएको छ।