प्रधानमन्त्री केपी ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेको दाबी गर्दै त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने बताएका छन्।
सशस्त्र प्रहरी बल, सिसं १६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुनविपरीतका क्रियाकलाप मौलाउन नदिइने स्पष्ट पारेका हुन्।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रतिष्ठान, मातातीर्थमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्राकृतिक विपतलगायत अन्य परिस्थितिलाई सामना गर्दै मुलुकको शान्ति स्थापना कार्यमा तैनाथ हुन लागेकामा सहभागी प्रहरी अधिकृतलाई शुभकामना दिँदै बललाई प्रभावकारी बनाउन र सुविधा बढाउने विषयमा कानुनमा आवश्यक संशोधनको तयारी भइरहेको जानकारी दिए।
प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै संगठनको क्षमता, उचाइ र कामलाई अझ माथि उठाउन शुभकामना दिए।
समारोहमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मी, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत उपस्थिति थिए। तालिमबाट ४५ प्रशिक्षार्थी सफल भई कार्यक्षेत्रमा खटिन तयार भएका छन्।