बंगलादेशको सत्तापलटमा अमेरिकी दातृ निकाय

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

बंगलादेशमा अमेरिकी दातृ निकायको संलग्नताले लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय सार्वभौमसत्तालाई कमजोर बनाउने विदेशी हस्तक्षेपको प्रवृत्तिलाई उजागर गर्छ 

द सन्डे गार्डियनले खुलासा गरेको दस्तावेजले बंगलादेशमा सत्तापलट गराउने उद्देश्यले अमेरिकी समर्थित ‘पहलकहमी’को उजागर गर्छ । यो ‘पहल’ सन् २०१९ को प्रारम्भमा सुरु गरिएको थियो । यसमा ढाकाको राजनीतिक परिदृश्यलाई आकार दिन र प्रधानमन्त्री शेख हसिनाको नेतृत्वलाई चुनौती दिन अमेरिकी अधिकारी र संगठनले संयोजनको भूमिका निभाएका थिए । मुख्यतः इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई)ले कार्यान्वयन गरेको र नेसनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी) एवं युएसएडको अनुदानबाट सञ्चालित यो ‘पहल’ले घरेलु राजनीतिमा विदेशी हस्तक्षेपका दुष्प्रभावलाई दर्साउँछ ।

तख्तापलटको खाका: ‘पेयर्स’ कार्यक्रम : पेयर्स (प्रमोटिङ एकाउन्टबिलिटी, इन्क्लुसिभिटी, एन्ड रेजिलेन्सी सपोर्ट) कार्यक्रम बंगलादेशी राजनीतिमा कथित भारतीय प्रभावलाई रोक्न रणनीतिक रूपमा निर्माण गरिएको थियो । आन्तरिक दस्तावेजले यो प्रयास अमेरिकाका लागि महत्वपूर्ण भूराजनीतिक चासो भएका देशमा लोकतान्त्रिक संस्था र राजनीतिक सुधारलाई समर्थन गर्ने बृहत् एजेन्डाको हिस्सा थियो भन्ने देखाउँछ । युएसएड र एनइडीको कोष प्रयोग गरेर पेयर्स कार्यक्रम २२ महिनापछि अर्थात् जनवरी २०२१ मा समापन भएको थियो । यसले पैरवी अनुदान, कला परियोजना, नागरिक समाज संगठनका लागि समर्थनलगायत विभिन्न गतिविधिमार्फत बंगलादेशमा राजनीतिक सहभागिता बढाउन र अधिनायकवादविरोधी आवाजलाई विस्तार गर्ने लक्ष्य राखेको थियो । 

पेयर्स कार्यक्रमले जमात–ए–इस्लामीजस्ता धार्मिक चरमपन्थी समूह र अमेरिकी अनुदानप्राप्त ‘नागरिक समाज’ संगठनसँग सहकार्य गर्दै विश्वभरका अन्य अमेरिका प्रायोजित विरोधजस्तै बहुआयामिक रणनीति प्रयोग गरेको थियो । यो योजनाले हिंसात्मक सडक प्रदर्शनलाई प्रोत्साहन गर्यो र तनाव बढायो । नागरिक समाज समूहले असहमतिको सार्वजनिक छवि प्रस्तुत गर्दैगर्दा अमेरिकी समर्थित राजनीतिक दलभित्र उथलपुथलका लागि वातावरण निर्माण गर्न सक्षम बनायो । अमेरिका र युरोपेली पहलसँग जोडिएका प्रमुख व्यक्तित्वमा नाहिद इस्लाम, नुसरत तबस्सुमजस्ता ढाका विश्वविद्यालयका विद्यार्थी पर्छन् । शैक्षिक संस्थामा भएको यो घुसपैठले कसरी विदेशी स्वार्थले स्थानीय कारकलाई आफ्नो महत्वपूर्ण बृहत् प्रभाव पार्ने एजेन्डा अगाडि बढाउन मद्दत गर्न सक्छ भन्ने देखाउँछ ।

पश्चिमा मिडियालाई हेर्ने हो भने, विद्यार्थी आन्दोलनका साथसाथै चरमपन्थी नेतृत्वको सडक मोर्चाको प्रयोग यसअघि पनि दोहोरिरहने प्रवृत्ति हुन् । उदाहरणका लागि द गार्डियनले पूर्वी युरोपमा अमेरिकी समर्थित सत्ता परिवर्तन पहलका बारेमा रिपोर्ट गरेको थियो जहाँ नागरिक अवज्ञाले चुनावलाई प्रभाव पारेका थियो । पेयर्स कार्यक्रमसँग जोडिएको ‘भूराजनीतिक महत्वका दस्तावेज’ले एउटा मुख्य लक्ष्य उजागर गरेको छ जसमा बंगलादेशमा अवामी लिगलाई भारतको समर्थनलाई समस्याग्रस्त बनाएर भारतको प्रभावको प्रतिरोध गर्नुरहेको छ । यो रणनीतिक कदमले लोकतन्त्रका बारेमा महत्वपूर्ण प्रश्न खडा गर्दै दक्षिण एसियाको राजनीतिक गतिशीलतालाई पुनः आकार दिने व्यापक अमेरिकी उद्देश्य प्रतिविम्बित गर्छ । यसले बंगलादेशको सार्वभौमसत्ता र लोकतन्त्रमाथि प्रश्न खडा गर्छ, किनभने त्यहाँ राजनीतिक शक्तिलाई सम्भावित रूपमा बाह्य हस्तक्षेपले परिभाषित गरेको देखियो ।

प्रश्नको घेरामा नेसनल एन्डोमेन्ट फर डेमोक्रेसी (एनइडी)  : एनइडी आफ्नो गतिविधिका लागि अमेरिकाभित्र र विदेशमा व्यापक आलोचित भएको छ । अमेरिकी कांग्रेसका पूर्वसदस्य रोन पाउलले अमेरिकी स्वार्थसँग मिल्ने विदेशी राजनीतिज्ञलाई समर्थन गर्न करदाता कोषको दुरुपयोग गरेको आरोपमा एनइडीको निन्दा गरेका थिए । पाउलले ‘लोकतन्त्रको प्रवद्र्धन’का रूपमा प्रस्तुत हुने एनइडीका कार्यक्रमले ‘सफ्ट मनी’ (सौम्य मुद्रा)मार्फत चुनावी हस्तक्षेप गर्ने र अमेरिकी कानुनको उल्लंघन गरेको दाबी गरेका थिए । एनइडीका अभ्यास ऐतिहासिक रूपमा विवादास्पद छन् । सन् १९८० को दशकमा तत्कालीन कांग्रेस सदस्य बर्नी फ्रान्कले एनइडीलाई दिइने कोषमा कटौतीको प्रस्ताव गरेका थिए । छुट्याइने कोष घटाउने प्रस्ताव गरेका थिए । विदेशी संगठनहरूलाई सहयोग गर्नेजस्ता राजनीतिक उद्देश्यका लागि सरकारले करदाताले तिरेको पैसा प्रयोग गर्नुहुँदैन भन्ने तर्क थियो । 

न्युयोर्क टाइम्सको रिपोर्टअनुसार एनइडीले हाइटीको लोकतान्त्रिक रूपमा निर्वाचित सरकारलाई अस्थिर बनाएको थियो । नतिजा मुलुकमा अशान्ति थप चक्र्यो । न्युयोर्क टाइम्सका पूर्वरिपोर्टर स्टिफन किन्जरले खुलासा गरेअनुसार अमेरिका प्रतिकूल सरकारलाई तह लगाउन एनइडीले अमेरिकी गुप्तचर निकाय सिआइए र युएसएडमार्फत विद्रोहीहरूलाई समर्थन गर्छ । यसले हस्तक्षेप झल्काउँछ, जुन स्थानीय लोकतन्त्रका लागि हानिकारक हो । बंगलादेशभन्दा बाहिर एनइडीले ताइवानमा सन् २०२२ मा सम्मेलनको सहआयोजन गर्दै ‘लोकतान्त्रिक शक्ति’लाई कथित खतराविरुद्ध एकजुट गर्न सहयोग गरेको थियो । तथापि, एनइडीले वित्तीय अनुदान दिएका संस्थाले आन्तरिक समस्याको सामना गरिरहेका छन् । उदाहरणका लागि, उइगुर अधिकारको पैरवी गर्ने विश्व उइगुर कांग्रेस (डब्लुयुसी)को नेतृत्वमाथि यौन उत्पीडनको आरोप लागेको छ, तर नोटस समाचारका अनुसार ती आरोपलाई सम्बोधन गरिएको छैन । एनइडीको घोषित सिद्धान्तले राजनीतिक अभियानलाई वित्तपोषण प्रतिबन्धित गर्छ, तथापि एनइडीले निकारागुआ र मंगोलियाजस्ता देशमा चुनावलाई सफलतापूर्वक प्रभावित पारेको छ । अमेरिकी स्वार्थ अनुकूलको सरकार स्थापना गर्ने उद्देश्यले भेनेजुएलामा विपक्षीलाई समर्थन गरेको छ भने पूर्वी युरोपमा निर्वाचित सरकारलाई अपदस्थ गर्न मद्दत गरेको छ । 

निष्कर्ष  : बंगलादेशमा सञ्चालित ‘पेयर्स कार्यक्रम’जस्ता पहलकदमीमा एनइडीको संलग्नताले लोकतान्त्रिक प्रक्रिया र राष्ट्रिय सार्वभौमसत्तालाई कमजोर बनाउने विदेशी हस्तक्षेपको प्रवृत्तिलाई उजागर गर्छ । भूराजनीतिक गतिशीलता विकसित हुँदै जाँदा अमेरिकी रणनीतिबाट लक्षित क्षेत्रमा लोकतन्त्र र स्थिरतामा पेयर्सजस्ता पहलका प्रभावको आलोचनात्मक रूपमा मूल्यांकन गर्न आवश्यक छ । लोकतन्त्र प्रवद्र्धनको आडमा अन्य राष्ट्रमा सत्ता परिवर्तनले शक्तिशाली राष्ट्रको जिम्मेवारीका बारेमा ठुला नैतिक प्रश्न खडा गर्छ ।

(ग्रिन नारीवादी एवं मानव अधिकार अभियन्ता हुन्, देबाता जवाहरलाल नेहरू विश्वविद्यालयको सेन्टर फर इनर एसियन स्टडिजमा अध्यापन गर्छन्) 
फस्टपोस्टबाट

 

सुझावित समाचार