प्राविधिक विद्यार्थीको फूल बगैँचा : ‘सिक, कमाऊ र तिर’

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

गुल्मीको तुराङ बहुप्राविधिक शिक्षालयका विद्यार्थीले तिहारमा फूलको सुन्दर बगैँचा बनाएका छन्। चन्द्रकोट गाउँपालिका– ८ मजुवामा रहेको शिक्षालयमा तीनवर्षे डिप्लोमा कृषिबाली विज्ञान अध्ययन गर्ने विद्यार्थी र शिक्षालयको सहयोगमा तिहारलक्षित गरेर छरेको सयपत्री र मखमली फूलले ढकमक्क बगैँचा मात्रै नभएर मजुवा बजारकै शोभा बढाएको छ । 

०७८ सालमा स्थापित सिटिइभिटीको आंगिकको रूपमा रहेको प्राविधिक शिक्षालयले विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउने उद्देश्यअनुरूप १० रोपनी जग्गा भाडामा लिएर कृषिसम्बन्धी अभ्यास गराउने गरेको छ। विशेष गरेर अहिले नै आयआर्जन नभएर कृषिलाई उद्यमशीलतासँग जोड्ने र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्ने उद्देश्यले विद्यार्थीहरूमार्फत विभिन्न काम गर्दै आएको शिक्षालय प्रमुख प्रदीपराज पाण्डेले बताए ।

उत्पादन गर्ने मात्रै नभएर बजारसँग समेत जोडेर हेर्न अहिले चाडपर्वलाई लक्षित गर्दै मखमली र सयपत्री फूल रोपिएको पाण्डेले बताए । तीन रोपनी जग्गामा फूल र सात रोपनी जग्गामा तरकारी उत्पादन गरिएको छ। बगैँचामा उत्पादन भएको फूलको माग अत्यधिक रहेको छ। स्थानीय बजारसँगै बुटवल, नवलपरासी र चितवनमा समेत फूलहरू पठाएको शिक्षालयकी कृषि प्राविधिक रोशनी बन्जाडेले जानकारी दिइन् । 

अहिले एक क्विन्टलभन्दा धेरै फूलको माग भइसकेको र शिक्षालयको आफ्नै सवारीसाधन नभएकाले टाढा–टाढा पुर्याउन नसकिएको बन्जाडेले बताइन् । अहिले प्रतिमाला तीन सय रुपैयाँका बिक्री भइरहेको छ । उनले धेरै फूलहरू फुल्न थालेकाले तिहारकै दिनसम्म खपत हुने बताइन् । त्यस्तै शिक्षालयमा उत्पादन भएको तरकारी सबैभन्दा पहिला शिक्षालयमा अध्ययनरत विद्यार्थीहरू, प्रशिक्षक र कर्मचारीहरूलाई बजारको मूल्यभन्दा ५० प्रतिशत कममा उपलब्ध गराउने गरिएको छ । शिक्षालयबाहिर तरकारी बजारको मूल्यभन्दा २० प्रतिशत कममा बजार पठाइएको शिक्षालयले जनाएको छ ।

शिक्षालयको फर्ममा अहिले काउली, बन्दागोभी, ब्रोकाउली, भन्टा, सिमी, रैथाने जातको स्थानीय सिमी, डल्ले खुर्सानी, काँक्रो र टमाटर लगाइएको छ । शिक्षालयले बिउ–बिजन र अन्य कृषि यन्त्रहरू व्यवस्थापन गर्ने गरेको, प्रशिक्षकले सहजीकरण गर्ने तथा विद्यार्थीहरूको श्रम व्यवस्थापन गर्ने गरेको छ । सिटिइभिटीको ‘सिक, कमाऊ र तिर’ भन्ने अवधारणालाई आत्मसात् गर्दै शिक्षालयले कार्य गर्दै आएको छ । साथै शिक्षालयको भौतिक पूर्वाधार व्यवस्थापनका लागि स्थानीय व्यक्तिहरूले ४४ रोपनी जग्गा निःशुल्क रूपमा उपलब्ध गराएका छन्।

अहिले शिक्षालयमा गुल्मीसहित सुर्खेत, हुम्ला, जुम्ला, बाजुरा, मुगु, लमजुङ, बागलुङ, नवलपरासी र प्युठानलगायतका विद्यार्थीहरूले पठनपाठन गरिरहेका छन् । सुरुमा कृषितर्फ बालीविज्ञान कार्यक्रम रहे पनि गत वर्षबाट पशुविज्ञान थप भएको छ ।  
 

सुझावित समाचार