कर्णाली स्वास्थ्य प्रतिष्ठानले चारजनालाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक पढाउने

मंगलबार, १३ कार्तिक, २०८१
डिजिटल संस्करण

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र डक्टर फर नेपाल (डिएफएन)ले चारजना चिकित्सकलाई छात्रवृत्तिमा विशेषज्ञ चिकित्सक अध्ययन गराउने भएको छ । विशेषज्ञ चिकित्सक उत्तीर्ण भएपछि प्रतिष्ठानले खटाएको स्थानमा कम्तीमा तीन वर्ष काम गर्ने सर्तमा चिकित्सकहरूलाई नि:शुल्क विशेषज्ञ चिकित्सक पढाउने भएको हो ।

प्रतिष्ठान र डक्टर फर नेपालले विभिन्न निजी मेडिकल कलेजमा अध्ययन गरिरहेका चारजना चिकित्सकहरूसँग आइतबार त्रिपक्षीय सम्झौता गरेको हो । सम्झौतामा प्रतिष्ठानका तर्फबाट प्रशासकीय अधिकृत अमृत भण्डारी, डक्टर फर नेपालबाट नाइजेल लयर्स र अध्ययन गर्ने चिकित्सकहरूले हस्ताक्षर गरेका छन् । छात्रवृत्ति पाउने चिकित्सकहरूमा जुम्लाकी डा. सिर्जना रावल र डा. नविता रावल, मुगुकी डा. मीना काफ्ले चौलागाईं र कालिकोटकी डा. ज्वाला बराल छिन् ।

सिर्जना काठमाडौं विश्वविद्यालयअन्तर्गत धुलिखेलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ र डा. नविता लुम्बिनी मेडिकल कलेजमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ अध्ययन गर्दै छिन् । मुगुकी डा. काफ्ले चौलागाईं नेसनल मेडिकल कलेज वीरगन्जमा एमडिजिपी अध्ययन गर्दै छिन् । कालिकोटकी डा. ज्वाला बराल चितवन मेडिकल कलेजमा मानसिक रोग विशेषज्ञ अध्ययन गर्दै छिन् । चारैजनाको विशेषज्ञ चिकित्सक अध्ययन गर्न लाग्ने खर्च (होस्टलसहित) प्रतिष्ठान र डिएफएनले आधाआधा व्यहोर्नेछन् ।

अध्ययन गर्ने चिकित्सकको खर्च दुवै संस्थाले सीधै अध्ययन गरिरहेको संस्थालाई उपलब्ध गराउनेछन् । लामो समयदेखि नेपालको कर्णाली (पुरानो कर्णाली)मा स्नातक तहका चिकित्सा तथा नर्सिङ छात्रवृत्ति दिँदै आएको डिएफएनले यस वर्षदेखि विशेषज्ञ चिकित्सकलाई पनि छात्रवृत्ति सुरु गरेको हो । डिएफएनले अहिलेसम्म झन्डै ४० जनालाई चिकित्सक तथा नर्स बनाइसकेको र अन्य अध्ययन गरिरहेको संस्थाकी अध्यक्ष डा. कटी यरोले जानकारी दिइन् । विशेषज्ञ छात्रवृत्ति अध्ययन र त्यसपछिको तीनवर्षे करार सम्झौताले कर्णालीका १३ जिल्लामा हुने चिकित्सक अभावलाई कम गर्ने उनको भनाइ छ ।

सुझावित समाचार