ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागेजिनको ‘बेस्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित भएको छ । शनिबार अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउन्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तारण गरे ।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।
बैंकका अध्यक्ष ढकालले यस सम्मानले बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताए । ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्यअमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो ।