टेबुलटेनिसमा नेपालले साउदीलाई हरायो

सोमबार, १२ कार्तिक, २०८१
डिजिटल संस्करण

बहराइनको मानामामा चलिरहेको आइएसएफ जिम्नासाइडको टेबुलटेनिसमा नेपालले महिला टिम इभेन्टमा साउदी अरबियालाई पराजित गरेको छ । बहराइन नेसनल रंगशाला इसा स्पोर्टसु सिटी हल ‘बी’मा ९ देखि १३औँ स्थानका लागि भएको प्रतिस्पर्धामा नेपालले साउदी अरबियालाई ४–१ ले पराजित गरेको हो । जितसँगै नेपालले सोमबार ९ देखि ११औँ स्थानका लागि युगान्डा वानसँग खेल्नेछ । 

यो खेल जितेमा नेपालले पुनः ९ देखि १०औँ स्थानका लागि खेल्ने अवसर पाउनेछ । नतिजा अनुकूल नआएमा नेपाल ११औँ स्थानमा रहनेछ । महिला टिम इभेन्टमा नेपालले समूह चरणमा इंग्ल्यान्ड, अजरबैजान, इटाली र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । नेपाल इंग्ल्यान्डसँग ४–३, अजरबैजानसँग ५–२, इटालीसँग ५–२ र चाइनिज ताइपेईसँग ७–० ले पराजित भएको थियो । महिला टिममा नेपालबाट इभाना थापा, वियंका राई, माल्सा नेपाल र विद्विसा मैनालीले खेलिरहेका छन् । महिलामा नेपालले एकल स्पर्धा गर्न बाँकी छ । पुरुषमा जेविस बुर्लाकोटी र आशिष महताले एकल इभेन्ट बाँकी छ । 

नोर्बु फाइनलमा 
आइएसएफ जिम्नासाइडअन्तर्गत बक्सिङमा नेपाल फाइनलमा पुगेको छ । यू–१८ उमेर समूहको आइएसएफ जिम्नासाइडको पुरुष ८० केजीमुनि युथमा नेपालका नोर्बु थेन्डुप शेर्पा फाइनलमा पुगेका हुन् । यसै इभेन्टमा नेपालका सूर्यान वैद्यले कांस्य जितेका छन् । मंगलबार हुने फाइनलमा नोर्बुको भेट ब्राजिलका रेजेन्डे डी क्रुजसँग हुने प्रशिक्षक दीपक महर्जनले जनाएका छन् । अल अहली क्लबमा भएको सेमिफाइनलमा नोर्बुले बहराइनका अनास अल जलाकीलाई आरएससी (रेफ्री स्टोप कन्टेस्ट)का आधारमा हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेका हुन् ।

सुझावित समाचार