नेपाल–भारत सीमा क्षेत्रमा रहेको बैतडीको पञ्चेश्वर गाउँपालिका– २, डिम्बरघाटमा रहेको महाकाली सीमा प्रहरी चौकी विस्थापित भएको छ । चौकीका इन्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीमाथि स्थानीय एक किशोरी बेपत्ता पारेको आरोप लागेको दुई हप्तापछि त्यहाँबाट प्रहरी चौकी नै विस्थापित भएको हो ।
महाकाली प्रहरी चौकीमा कार्यरत पाँच प्रहरीलाई तीन घण्टा टाढा कुलाउ चौकीमा राखिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए । चौकी इन्चार्जमाथि किशोरी बेपत्ता पारेको घटनापछि स्थानीय बासिन्दा र जनप्रतिनिधिले प्रहरी चौकी हटाउन लिखित माग गरेका थिए । ‘तत्काललाई चौकी हटाउन पालिका अध्यक्षलगायत जनप्रतिनिधिले नै माग गरे,’ प्रजिअ शर्माले भने, ‘आक्रोशित स्थानीयबाट सुरक्षा चुनौतीसमेत देखिएकाले तत्काललाई अस्थायी रूपमा कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको हो ।’
डिम्बरघाट क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले गस्ती गरिरहेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार महाकाली प्रहरी चौकीलाई कुलाउमा सारिए पनि छिट्टै उपयुक्त स्थानमा चौकी स्थापना गरिने प्रजिअ शर्माको भनाइ छ ।
किशोरी बेपत्ता घटना के हो ?
गत २५ असोजमा किशोरीलाई बेपत्ता पारेको आरोपपछि जिल्ला प्रहरी कार्यालयले प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । घटनाको दिन भागेर महाकालीपारि भारतीय क्षेत्रमा पुगेका उनलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । बेपत्ता पारिएकी १७ वर्षीया किशोरीका बुबाले हवल्दार जोशीका नाममा किटानी जाहेरी दर्ता गराएपछि उनी अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा छन् । उनीमाथि दोस्रोपटक म्याद थपेर अनुसन्धान भइरहेको बैतडी प्रहरीका सूचना अधिकारी जनक ढुंगानाले बताए ।
बेपत्ता भएकी किशोरीसँग प्रहरी हवल्दार जोशीको नियमित भेटघाट र सम्पर्क रहेको दाबी किटानीमा उल्लेख छ । जोशीले प्रहरीलाई दिएको बयानमा २५ असोज बिहान बेपत्ता किशोरीको आफूसँग भेट भएको स्विकारेका छन् । ‘गाउँ र प्रहरी चौकीको पानी भर्ने धारा एउटै भएकाले सोही क्रममा किशोरीसँग चिनजान भएको खुलेको छ,’ सूचना अधिकारी ढुंगानाले भने, ‘बेपत्ता पारिएकोबारे भने हवल्दार जोशी केही बोलेका छैनन् ।’ हवल्दार जोशीको मोबाइलमा ती किशोरी र उनीहरूका संयुक्त तस्बिर पनि भेटिएका छन् । किशोरीको खोजीका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको प्रहरी टोली पञ्चेश्वरमा सक्रिय रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
भीमकान्त शर्मा, सिडिओ, बैतडी
चौकी इन्चार्जमाथि किशोरी बेपत्ता पारेको आरोप लागेपछि स्थानीय बासिन्दा र जनप्रतिनिधिले प्रहरी चौकी हटाउन लिखित माग गरेका थिए । आक्रोशित स्थानीयबाट सुरक्षा चुनौतीसमेत देखिएकाले तत्काललाई अस्थायी रूपमा कुलाउ प्रहरी चौकीमा स्थानान्तरण गरिएको छ ।