गैरआवासीय नेपाली संघ (एनआरएनए)सम्बद्ध बद्री केसी समूहले आयोजना गरेको विवादित कार्यक्रममा प्रमुख अतिथि बनेर प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन लागेका छन् । परराष्ट्रमन्त्री आरजु राणाको निर्देशनमा मन्त्रालयले एकता महाधिवेशन गर्न १ कात्तिकमा एनआरएनएलाई पत्राचार गरेको थियो । तर, त्यसलाई बेवास्ता गर्दै केसी समूहले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुन लागेका हुन् ।
‘साधारणसभा र एनआरएनए डे’ भनिएको विवादित कार्यक्रमको उद्घाटन प्रधानमन्त्री ओलीले काठमाडौंको होटेल सोल्टीमा आइतबार बिहान साढे ९ बजे गर्ने तय भएको छ । प्रधानमन्त्रीको सचिवालयले एनआरएनएको कार्यक्रममा ओली सहभागी हुने तय भएको जनायो ।
कार्यक्रमबारे जानकारी दिन एनआरएनएको सचिवालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा समेत उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने जानकारी गराइएको थियो । बद्री केसी पक्षका महासचिव गौरिराज जोशीले ‘रूपान्तरण र एकता : श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने मुख्य विषयमा केन्द्रित रहेर एनआरएनए ग्लोबल कन्क्लेभ–२०२४ तथा वार्षिक साधारणसभा आइतबार र सोमबार हुने बताए ।
गत १०औँ महाधिवेशनदेखि उत्पन्न विवाद बढ्दै जाँदा हाल तीनवटा एनआरएनए छन् । १०औँ महाधिवेशनबाट दुईवटा कमिटी बनेसँगै आधिकारिकताको दाबी गर्दै कुँवर पक्ष अदालत गएको थियो । अदालतले कुँवर र संस्थापन पक्ष कसैलाई पनि आधिकारिकता नदिई संघलाई १ माघ ०७८ को अवस्थामा फर्काएर एकताको महाधिवेशन गर्न २१ चैतमा फैसला गरेको थियो । १ माघ ०७८ मा संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को ८१औँ बैठकले एउटा उच्चस्तरीय समिति गठन गरेको र सो समिति गठन गर्दासम्म कुनै विवाद नरहेको देखिएकाले सोही विन्दुबाट एकताको महाधिवेशन गर्न सर्वोच्चले आदेश दिएको थियो ।
एकतामै जोड
पूर्वअध्यक्ष उपेन्द्र महतोले अदालतले नै एकताको महाधिवेशन गर्न भनिदिएपछि सबैलाई सजिलो हुने र सबैलाई फेस सेभको पनि अवसर मिलेको प्रतिक्रिया दिए । यसैगरी, १०औँ महाधिवेशनबाट तीनजना अध्यक्ष चुनिए पनि अदालतबाट मान्यता नपाएकामध्येका कुल आचार्यले पनि सर्वोच्चको पत्र सकारात्मक रहेको प्रतिक्रिया दिए । विनोद कुँवर र रविना थापाले पनि एकता महाधिवेशन सबैको हितमा रहेको बताए ।
यसैगरी, पूर्वअध्यक्ष जीवा लामिछानेले संस्था एकताबद्ध बनाउनुको विकल्प नरहेको बताए । यता बद्री केसीले भने संघभित्र रहेका असन्तुष्टिहरूलाई सम्बोधन हुने भएकाले आफूहरूको साधारणसभालाई एकताको साधारणसभा मान्नुपर्ने बताए ।