तिहार र छठमा काठमाडौंमा प्लास्टिकका फूलमाला बिक्री निषेध

यस वर्ष पनि महानगरले स्थानीय फूलमाला बिक्रीस्थान तोक्दै

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाले तिहार तथा छठ पर्वलाई मध्यनजर गरी प्लास्टिकका फूलमाला एवं सजावटका सामान बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । महानगर क्षेत्रभित्र कसैले प्लास्टिकका फूलमाला, सजावटका सामान बिक्री गरे आर्थिक ऐन ०८१ र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन ०७७ बमोजिम जरिवाना गर्ने भएको छ । 

‘हामीले बजेटमै प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामान उत्पादन र बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छौँ । त्यसैलाई कार्यान्वयनस्वरूप चाडपर्वमा कडाइ गर्न लागेका हौँ । अन्य समयमा भन्दा तिहारमा प्लास्टिकजन्य फूलमाला धेरै बिक्री हुने भएकाले यतिवेला थप कडाइ गर्न लागेका हौँ,’ महानगरपालिकाअन्तर्गत वातावरण विभागकी निमित्त विभागीय प्रमुख सरिता राईले भनिन्, ‘सार्वजनिक सूचना पनि जारी गर्छौं । उक्त सूचना उल्लंघन गरेमा जरिवाना गर्छाैं ।’ महानगरभित्र प्लास्टिकजन्य फूलमाला बिक्री भए–नभएको अनुगमनसमेत हुनेछ । अनुगमनका क्रममा बिक्री भए सामान जफतसमेत हुुनेछ ।

महानगरले आर्थिक वर्ष ०८१/०८२ को बजेटमै एकल प्रयोगको प्लास्टिक, प्लास्टिकको फूलगुच्छा उत्पादन, बिक्री वितरण र आयात एवं ४० माइक्रोनभन्दा कमका प्लास्टिकजन्य उत्पादन तथा प्रयोगलाई पूर्ण निषेध गरिने उल्लेख गरेको छ । गतवर्ष पनि महानगरले तिहार तथा छठ पर्वमा घर, पसलहरू सजाउनका निम्ति प्रयोग हुने प्लास्टिकका फूल, माला तथा सजावटका सामान किनबेच नगर्न भनेको थियो । प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामान लुकिछिपी बिक्री गर्नेको गरेको ठाउँबाट जफतसमेत गरेको थियो ।

यसैगरी, महानगरपालिकाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न स्थानीय फूलमाला बिक्री गर्ने स्थान तोक्ने भएको छ । यसका लागि महानगरले उपयुक्त स्थान खोजिरहेको छ । उपभोक्ता र उत्पादक दुवैलाई पायक पर्ने स्थान खोज्ने काम भइरहेको महानगरले जनाएको छ । 

खाद्य तथा पेयपदार्थ एमआरपीभन्दा बढीमा बेच्न नपाइने
सिनेमा हलभित्र अब सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा धेरैमा बेच्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ती जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा बिक्री–वितरण गरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ । विभागले यही ५ कात्तिकमा नेपाल चलचित्र संघका पदाधिकारीसँग बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने र उपभोक्ताको हक अधिकार  संरक्षण गर्ने विषयमा छलफल गरेको थियो । ‘...छलफल र अन्तर्क्रिरयापश्चात् चलचित्र हलको परिसरभित्र प्रशोधित पिउने पानीको बिक्री–वितरण एमआरपी अर्थात् अधिकतम खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भएबमोजिम अबउप्रान्त कुनै पनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्नुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

मर्यादित भएर चाडपर्व मनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रूपमा चाडपर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बिहीबार सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेका हुन् । जिप्रका काठमाडौंले कानुनविपरीत जुवातास, लंगुरबुर्जा खेल्ने–खेलाउने, भूइँचम्पा, पटाका, आतिसबाजीजस्ता विपत् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्ज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री–वितरणलगायत कार्य नगर्न–नगराउन पनि अनुरोध गरेको छ । ‘कानुनले निषेध गरेका गतिविधि गरे–गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिन्छ,’ सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौंले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लिखित कुराको बर्खिलाप हुने गरी कोही–कसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ । 

सुझावित समाचार