राष्ट्रसंघीय शान्ति मिसनका ६६ वर्ष : अहिलेसम्म एक लाख ७१ हजार नेपाली फौज सहभागी

शुक्रबार, ९ कार्तिक, २०८१
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघको शान्ति स्थापक मिसनमा नेपाली सेना सहभागी भएको ६६ वर्ष भएको छ । सन् १९५८ मा पर्यवेक्षक पठाएर सहभागी भएको नेपाली सेना अहिलेसम्म चार महादेशका ४१ देशमा ५२ मिसनमा सहभागी भएको छ । हाल विश्वका १४ शान्ति मिसनमध्ये ११ मिसनमा ६ हजार १४१ जना कार्यरत छन् । 

सेनाको पाँचवटा इन्फेन्ट्री बटालियन, एउटा मेकानाइज्ड बटालियन, एउटा मेकानाइज्ड कम्पनीसहित चार कम्पनी, तीनवटा स्पेसल फोर्स युनिट, दुईवटा इन्जिनियर युनिट, एउटा सैन्य प्रहरी युनिट र एउटा मेडिकल युनिट कार्यरत छ । सशस्त्र प्रहरीका १९५ जना र नेपाल प्रहरीका २८ जनासमेत जम्मा ६ हजार १४१ जना नेपाली सुरक्षाफौज १४ वटा शान्ति स्थापक मिसनमा कार्यरत छन् । 

‘हालसम्म नेपालका १ लाख ७१ हजार शान्ति सेनाले संयुक्त राष्ट्रसंघको अगुवाइमा विश्व शान्तिका लागि योगदान पुर्‍याएका छन्,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी गौरवकुमार केसीले भने । दक्षिण सुडानमा मात्रै १७ सय नेपाली फौज कार्यरत छ । हालसम्म शान्ति सेनामा सहभागी हुने क्रममा ८१ जना नेपाली सुरक्षाकर्मीको निधन भएको छ भने ७४ जना घाइते भएका छन् । 

राष्ट्रसंघको माग भएमा नेपालले १० हजार शान्ति सैनिक परिचालन सक्ने अवस्था छ । ‘राष्ट्रसंघबाट माग भएको अवस्थामा हामी १० हजारसम्म शान्ति स्थापक फौज पठाउन सक्ने अवस्थामा छौँ । यो नेपाल सरकारले गरेको प्रतिबद्धता हो,’ सैनिक प्रवक्ता केसीले भने । 

नेपालले सुरुमा ५ जना सैनिक पर्यवेक्षकबाट शान्ति मिसनमा सहभागिता जनाएको थियो । संयुक्त राष्ट्रसंघीय अधिकारीहरूले नेपाली सुरक्षाफौजको सहभागिताका आधारमा नेपाल संयुक्त राष्ट्रसंघको भरपर्दो सदस्य राष्ट्र प्रमाणित भएको बताउँदै आएका छन् । 

धेरै सुरक्षाकर्मी पठाउने सूचीमा बंगलादेश दोस्रो र भारत तेस्रो, रुवाण्डा चौथो र पाकिस्तान पाँचौँ स्थानमा छ । सबैभन्दा धेरै सुरक्षाकर्मी पठाउने प्रमुख चार मुलुक दक्षिण एसियाली हुन् । 

शान्ति सेनामा सबैभन्दा बढी महिला सैनिक पनि नेपालकै छन् । हाल ६ हजार १४१ जना फौज शान्ति सेनामा कार्यरतमध्ये ६२८ जना महिला सुरक्षाकर्मी छन् । राष्ट्रसंघले सन् ०२८ सम्म मिसनमा फौजी महिलाको संख्या १५ प्रतिशत तथा सैन्य पर्यवेक्षक तथा स्टाफ अफिसरको संख्या २५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । नेपाल आवश्यकताअनुसार क्रमिक रूपमा महिला सैनिकको सहभागिता बढाउन प्रयासरत रहेको सेनाले जनाएको छ । 

कुन मिसनमा कति सुरक्षा फौज ? 
सेनाका अनुसार हाल परिचालित नेपाली सेनाका जनशक्तिमध्ये संयुक्त राष्ट्रसंघ मुख्यालयमा ८ जना कार्यरत छन् । शान्ति स्थापक मिसनमध्ये कंगोमा ११५० जना, दक्षिण सुडानमा १७५६ जना, लेबनानमा ८७७ जना, सिरिया (गोलान हाइट्स)मा ४४९ जना, सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)मा १२४३ जना खटिएका छन् । यसैगरी, इराकमा ८८, लिबियामा २३१, इजरायलमा तीन, यमनमा दुई, अबेई सुडानमा १०७ र वेस्टर्न सहारामा पाँचजना सैनिक पनि कार्यरत छन् । यीमध्ये स्टाफ अफिसर ११९ जना र सैन्य पर्यवेक्षक ३९ जना छन् । 

सेनाको १४ शान्ति फौज अप्रेसनमा चालू आर्थिक वर्षका लागि पाँच अर्ब ५९ करोड अमेरिकी डलर बजेट छ । शान्ति फौज, सेवा केन्द्र, मुख्यालयका लागि सहयोगी स्टाफलगायतका लागि यो बजेट खर्च हुने गर्छ । गत वर्ष यो रकम ६ अर्ब १० करोड डलर थियो । यो वर्ष जुलाई १ देखि आगामी वर्ष ३० जुनसम्मको बजेट हो । 

लेबनानमा नेपाली सैनिक सुरक्षित, तत्काल नफर्किने
सैनिक प्रवक्ता केसीका अनुसार लेबनानको दक्षिणी क्षेत्रमा कार्यरत नेपाली शान्ति फौज सुरक्षित छन् । उनीहरूलाई तत्कालै फर्काउने वा अरू ठाउँमा स्थानान्तरण गर्ने योजना नभएको पनि प्रवक्ता केसीले बताए । 

‘हाम्रा फौज अहिलेसम्म सुरक्षित छन् । अत्यन्तै प्रतिकूल परिस्थितिमा उनीहरूसहित त्यहाँ कार्यरत शान्ति सैनिकलाई कहाँ र कसरी स्थानान्तरण गर्ने भन्ने योजना राष्ट्रसंघ र त्यहाँको मिसन मुख्यालयले बनाएको छ,’ केसीले भने, ‘समस्या भएको ठाउँमा नै शान्ति मिसन जाने हुनाले हरेक मिसनमा यस्तो योजना बनेको हुन्छ, लेबनानमा पनि आवश्यक पर्दा स्थानान्तरण गर्ने योजना बनेको छ । तर, अहिलेसम्म निर्णय भएको छैन ।’ 

नेपाली शान्ति सैनिकले तह २ र ३ को सुरक्षा अवस्था पालना गरेको छ । ‘तह २ भनेको रसद पानी र अन्य प्रयोजनका लागि बंकरबाहिर निस्कने भन्ने हो । तह ३ भनेको बंकरमै बस्ने स्थिति हो । तह ३ मै बस्नुपर्दा पनि १४ दिनसम्म पुग्ने ड्राइफुडको व्यवस्था हुन्छ,’ प्रवक्ता केसीले भने । 

सुझावित समाचार