श्रीलंकाविरुद्ध पहिलो हाफमै चार गोल

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

साफ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमै ४–० को अग्रता बनाएको छ।

बिहीबार दशरथ रंगशालामा रेखा पौडेलले दुई तथा सविता रानामगर र सावित्रा भण्डारीले समान एक गोल गरेका छन्। 

खेलको आठौँ मिनेटमा सविताले नेपाललाई अग्रता दिलाइन्। फ्रान्सबाट व्यावसायिक फुटबल खेलेर फर्किएकी सावित्रा भण्डारीले मिलाएको सुन्दर पासमा उनले गोल गरेकी हुन्।

दोस्रो गोल १२औँ मिनेटमा सम्भव भयो। सावित्राले २५ यार्ड नजिकैबाट हानेको शक्तिशाली प्रहारले सीधै जाली चुमेको थियो। तीन दिनअघि नेपाल आएकी सावित्राले पहिलो खेल खेलिरहेकी छिन्। यो साफमा उनको पहिलो गोल हो।

खेलको १३औँ मिनेटमै रेखा पौडेलले तेस्रो गोल गरिन्। अमिषाको क्रसमा बक्सभित्र पुग्दै रेखाले भली गोल गरेकी हुन्।

३६औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गरेकी हुन्। सावित्राले बक्सबाहिरबाट हानेको प्रहार रेखालाई लाग्दै गोल हुन पुगेपछि पहिलो हाफमै नेपालले ४–० को अग्रता बनायो।

आज नेपाल श्रीलंकालाई हराउँदै समूह ‘बी’ विजेता बन्ने योजनामा छ। समूहमा तीन खेलबाट ७ अंकसहित भुटान शीर्ष स्थानमा छ। नेपाल र भुटान पहिलो खेलमा गोलरहित बराबरी खेलेका थिए। नेपालको चार अंक रह्यो। श्रीलंकाको तीन अंक रहेको छ। यता, घरेलु टोलीलाई स्तब्ध बनाउँदै श्रीलंका सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ।

प्रशिक्षक राजेन्द्र तामाङले तेस्रो खेलमा कप्तान अञ्जिला तुम्बप्पो सुब्बासहित अमृता जैशी, सावित्रा भण्डारीलाई पहिलो ११ मा खेलेका थिए। तीनै खेलाडी दोस्रो खेलमा माल्दिभ्सविरुद्ध विश्राममा थिए।

सुझावित समाचार