काभ्रेका बाढीपीडित भन्छन्– गाँस जुट्यो, वास चाहियो

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

काभ्रेको रोशी गाउँपालिका– ३ भँडारेका ७६ वर्षीय तिलकबहादुर रानामगर वडा नम्बर ३ को कार्यालयनजिकै बसिरहेका थिए। उनी राहत ल्याएको सुनेपछि लिन आएका थिए। उनको नौजनाको परिवार छ। तर, कामकाममा गएकाले राहत लिन उनी आफैँ आएका थिए । उनी राहत पर्खँदै थिए ।

गत असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाले रानामगरको दुईवटा घरगोठ बगाएको थियो। उनको घरगोठ मात्र बगाएन, दुई हलभन्दा बढी उब्जाउ हुने खेतबारी पनि बगाएको छ। उनी घरबारविहीन भएका छन्। अहिले तत्कालका लागि छाप्रो बनाएर बसेका छन् । चिसो बढेसँगै  उनलाई बस्ने वासको चिन्ताले सताउँदै आएको छ। ‘छोरा र मेरो दुईवटै घर बगायो । दुई हलको खेतबारी पनि बगायो। घरबाट एक गेडा अन्न पनि निकाल्न पाइएन । धन्न मान्छे चाहि बाँच्यौँ,’ ७६ वर्षीय रानामगरले भने, ‘दुईपटक राहतको खाद्यान्न लिएँ। खानलाई त भयो अब बस्ने वासको चिन्ता छ । जाडो कसरी कटाउने भन्ने चिन्ता छ । घडेरी त हाम्रै छ । हामीलाई अब बस्ने वासका लागि सहयोग चाहिएको छ ।’

उनको भन्दा बढी पीडा सोही स्थानका रूपबहादुर तुम्सिङ मगरको छ । उनको घरगोठ मात्र बगाएन  एक छोरा र एक छोरी पनि बगायो । तुम्सिङका नाै वर्षकी छोरी र चार वर्षका छोराको घरमा पुरिएर मृत्यु भएको छ । उनको घर बगाए पनि गोठ बाँकी रहेकाले गोठमा बस्दै आएका छन् ।

उनले पनि टाउको लुकाउने वास आवश्यक रहेको बताए। ‘जाडो बढिरहेको छ। हामी त जेनतेन बस्छौँ, तर बालबच्चालाई चिसोमा गाह्रो हुने भयो,’ तुम्सिङ मगरले भने, ‘हाम्रो घडेरी छ, घर बनाउनका लागि सहयोग भए हुन्थ्यो।’ उनीहरूको जस्तै साइँला लामा, लोकबहादुर तुम्सिङ मगर, देवबहादुर ठाडा मगरलगायतको पनि व्यथा उस्तै छ । उनीहरूको पनि माग त्यही छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले राहत कार्यक्रमको साथमा पुनर्स्थापनाको पहल गरिरहेको बताए । चिसो मौसम सुरु भएकाले संघसंस्थाहरूमा बाढीपीडितहरूको पुनर्स्थापनाका लागि वासको व्यवस्थापनको पहल गरिरहेको लामाको भनाइ छ । ‘बाढीपीडितहरूको लागि राहत वितरण कार्यक्रमसँगै वासस्थानको व्यवस्थापनका लागि पहलमा जुटेका छौँ । स्थानीय सरकारसँग धेरै स्रोत नभएकाले हामीले संघसंस्थासँग पहल गरेका छौँ,’ गाउँपालिका अध्यक्ष लामाले भने, ‘हाम्रो पहललाई केही संघसंस्थाले सकारात्मक रूपमा लिएका छन् । उहाँहरू बाढीपीडितको घर बनाइदिन इच्छुक हुनुहुन्छ । हामी त्यसतर्फ छिट्टै लाग्नेछौँ ।’ शाखा बाटोहरू बन्द रहेकाले बाटो खुलाइरहेको र ती बाटोहरू खुलिसकेपछि पीडितका घर निर्माणको प्रक्रियामा लाग्ने उनको भनाइ छ ।
 

सुझावित समाचार