फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)को आयोजनामा ललितपुरको जावलाखेल ग्राउन्डमा आजदेखि १७औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । यही कात्तिक ११ गतेसम्म चल्ने मेलामा ६८ व्यावसायिक स्टल, दुई प्रतियोगितात्मक स्टल, चार अफिसियल स्टल र सेल्फी स्टल एक गरी ७५ वटा प्रदर्शनी कक्ष छन् ।

मेलामा नेपालमा व्यावसायिक रूपमा उत्पादन हुँदै आएका र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिसमेत प्रदर्शनी तथा बिक्री–वितरण भइरहेको आयोजकले जनाएका छन् । यसका साथै यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूसमेत प्रदर्शनीमा छन् ।

चारदिने प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने साथै एक करोडभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ । फ्यानले पुष्प व्यवसायको व्यावसायिक विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले २०५१ देखि लगातार पुष्प मेला र प्रदर्शनीको आयोजना गर्दै आएको छ ।







