बुबाको मृत्युपछि आमाले अर्को विवाह गर्दा दुई बालक अलपत्र

बिहिबार, ८ कार्तिक, २०८१
डिजिटल संस्करण

रोजगारीका लागि भारत गएका त्रिवेणी नगरपालिका– ६ का  २७ वर्षीय खगेन्द्र बुढाको हृदयाघातका कारण ६ वर्ष पहिला भारतमा मृत्यु भयाे । खगेन्द्र बुढाको मृत्युपछि उनकी श्रीमती पार्वतीकुमारी साउद बुढा दुई नाबालक छोरा छोडेर अर्कोसँग विवाह गरेर गइन्। 

बुबाको मृत्यु र आमाले अर्कोसँग बिहे गरेर जाँदा खगेन्द्र बुढाका दुई छोरा अहिले गाउँमा अलपत्र अवस्थामा छन्। खगेन्द्र बुढाको पहिलो सात वर्षीय छोरा आर्यन र दोस्रो पाँच वर्षीय छोरा रिजन छन्। यी दुई नाबालक आमाबुबा नहुँदा अलपत्र अवस्थामा छन्। 

मृतक खगेन्द्र बुढाकी ६५ वर्षीया आमा धनमती बुढाले यी नाबालकलाई अहिलेसम्म जसोतसो पाल्दै आएकी छिन्। उनको उमेर बुढो भयो। आर्थिक अवस्था निकै कमजोर छ । मृतक खगेन्द्रका बुबा पनि वृद्ध छन्। उनको शारीरिक अवस्था पनि कमजोर छ । 

मृतक खगेन्द्र बुढाको घरबाट १५ मिनेट पैदलबाटो हिँडेर बडिमालिका माध्यमिक विद्यालय पुगिन्छ । यी बालक नियमित  विद्यालय आउने नगरेको विद्यालयका प्रधानाध्यापक हिराबहादुर खड्काले बताए । विद्यालयमा नियमित पढ्न आएपछि स्कुल पोसाक, कापीकलमजस्ता सामग्री सहयोग गर्न आफूले विद्यालयको तर्फबाट निर्णय गरेको उनले बताए । 

नाबालक रिजन र आर्यनका हजुरआमा र हजुरबुबा वृद्ध भएकाले समयमा खाना खान नपाउने भएकाले विद्यालयमा नियमित आउन नसकेको उनको भनाइ छ ।
       
 

सुझावित समाचार