ठेकेदारले समयमै काम नसक्दा आठ वर्षदेखि अलपत्र रहेको सडकमा न्यून बजेट आउने अर्काे समस्या थपियो, करिब डेढ अर्ब भुक्तानी लिनुपर्ने भएपछि उधारोमा काम नगर्ने भन्दै ठेकेदारद्वारा सडक निर्माण सुस्त
कैलाली–कञ्चनपुर खण्डमा हुलाकी राजमार्ग निर्माणका लागि चालू आर्थिक वर्ष ०८१–८२ का लागि विनियोजित करिब ३२ करोड रुपैयाँ असोज दोस्रो सातासम्ममा सकिएको छ ।
हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका इन्जिनियर रमेश पन्तले बजेट असोजमै सकिएकाले त्यसपछि भएको निर्माणको भुक्तानी पनि गर्न नसकिएको बताए । चालू आवका लागि विनियोजित बजेटबाट २१ करोड ६५ लाख रुपैयाँ गत आवकै दायित्वबापत भुक्तानी भएकाले चाँडो बजेट सकिएको हो ।
गत आवमा ३९ करोड बजेट विनियोजन भएको थियो, तर यो रकम चैतमै सकियो । पैसा सकिनासाथ निर्माण कम्पनीले उधारोमा काम नगर्ने भन्दै सडक निर्माणलाई तीव्रता दिएनन् । असारमा रकमान्तर भएर १७ करोड आए पनि अपुग भएपछि आयोजनाले गत वर्ष २१ करोड ६५ लाख रुपैयाँ भुक्तानी दिन सकेको थिएन ।
‘अहिले पनि भुक्तानीका लागि बिल पेस भएका छन्’, इन्जिनियर पन्तले भने, ‘थप बजेट नआए निर्माण कार्य प्रभावित हुने अवस्था छ ।’ असोज दोस्रो सातायता चार करोड रुपैयाँको काम सम्पन्न भई भुक्तानीका बिलहरू प्राप्त भएको उनले जानकारी दिए । निर्माण कम्पनीको लापरबाहीले राजमार्गको केही खण्डको काम आठ वर्षदेखि अलपत्र छ । अहिले निर्माणले गति लिएका वेला बजेट अभावको अर्को समस्या देखिँदा यस खण्डको हुलाकी राजमार्ग निर्माण पुनः कछुवा गतिमा धकेलिने आशंका बढेको छ । सडक बनाउन बजेट अभाव भएको यो पहिलोपटक भने होइन, गत आवमा पनि कम बजेट आएकाले निर्माण प्रभावित भएको थियो । बर्सेनि न्यून बजेट आउँदा कैलाली–कञ्चनपुर खण्डमा राजमार्ग निर्माणको काम प्रभावित भइरहेको आयोजना कार्यालयका सूचना अधिकारी बर्खबहादुर कठायतले बताए ।
दुई जिल्लामा सडक बनाउन ४ अर्ब ८४ करोड लागत
कैलाली–कञ्चनपुर खण्डमा हुलाकी राजमार्ग निर्माणको लागत ४ अर्ब ८४ करोड ३३ लाख रहेको छ । अहिलेसम्म सडक निर्माणको काम ८० प्रतिशत सकिएको र निर्माण व्यवसायीको करिब डेढ अर्ब दायित्व बाँकी रहेको आयोजनाका सूचना अधिकारी बर्खबहादुर कठायतले जानकारी दिए ।
न्यून बजेट र निर्माण कम्पनीको लापरबाहीले कञ्चनपुरमा हुलाकी राजमार्ग निर्माण अलपत्र छ । कैलालीमा पनि केही खण्डमा निर्माण र स्तरोन्नतिको काम सुस्त गतिमा भइरहेको छ । राजमार्गअन्तर्गत कञ्चनपुरमा २० किलोमिटर लामो बेलौरी–बेल्डाँडी खण्ड र २२.५ किलोमिटर लामो बेल्डाँडी–दैजी खण्डको आठ वर्षदेखि पूर्ण भएको छैन ।
बेलौरी–बेल्डाँडी खण्डमा बाबाहंश–सिद्धी साई जेभी र बेल्डाँडी–दैजी खण्डमा शर्मा–राजेन्द्र जेभीले काम गरिरहेका छन् । २०७३ फागुन–चैतमा सम्झौता हुँदा ३० महिनाभित्र निर्माण पूरा गर्ने सर्त थियो । सातौँपटक थपिएको अवधि सकिन केही महिना बाँकी रहँदा यी खण्डको प्रगति करिब ८० प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।
राजमार्गअन्तर्गत कैलालीमा धनगढीदेखि टीकापुरको सत्तीसम्म स्तरोन्नति र लम्कीदेखि खक्रौलासम्म लिंकरोड निर्माणको काम विभिन्न खण्डमा छुट्याएर भइरहेको छ ।